काठमाडौँ: शुक्रबार चितवनको सौराहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक सुरु भएको छ। बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
रास्वपाले तत्कालीन संसदका तीन ठूला दलका कारण जेनजी आन्दोलन भएको ठहर गरेको छ। २०६२/०६३ को राजनीतिक परिवर्तनले गणतन्त्र स्थापित गरेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक-पटक सरकारको नेतृत्व गरेकोमा उनीहरूबीच कटुतापूर्ण प्रतिस्पर्धा अस्वाभाविक मिलन, अविश्वासको राजनीति सत्ता स्वयंका कारण सरकारहरू स्थिर हुन नसकी जेनजी आन्दोलनको अवस्था आएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता नभई विकास निर्माणमा बाधा पुगेको, जनताको अपेक्षा अधुरै रहेको लगायतका कारणले आजको अवस्था आएको निष्कर्ष रास्वपाको छ।
यी हुन् जेनजी आन्दोलनबारे रास्वपाले निकालेका ५ निष्कर्ष
- २०६२/०६३ को राजनीतिक परिवर्तनले गणतन्त्र स्थापित गरेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक-पटक सरकारको नेतृत्व गरे। तर, उनीहरूबीच कटुतापूर्ण प्रतिस्पर्धा अस्वाभाविक मिलन, अविश्वासको राजनीति सत्ता स्वयंका कारण सरकारहरू स्थिर हुन सकेनन् । बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता भएन र विकास निर्माणमा बाधा पुग्यो। जनताको अपेक्षा अधुरै रहे। सत्ताको कुरा भए। सरकारको कुरा गरिए तर जनताको कुरै भएन।
- पुराना दलहरुले सरकारको नेतृत्वका ठूला काण्ड बाहिर आए। तर प्रभावकारी छानबिन भएन। भ्रष्टाचार संलग्नलाई
कारबाही नहुनु वा राजनीतिक प्रभावमा परेर उन्मुक्ति पाउनु दण्डहीनतालाई प्रश्रय दियो। जनता चरम भ्रष्टाचारका नातिनमा राजनीतिक संरक्षणका कारण आजित भइसकेका थिए।
- पुराना दलहरूको नेतृत्वमा रहेका सरकारले सुशासन कायम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन राज्य संरचनामा ढिलासुस्ती, अनियमितता र विचौलियाको बिगबिगी कायम रह्यो आधारभूत सेवासुविधा प्राप्त गर्न पनि राजनीतिक भनसुन गर्नुपर्ने वा घुसाउनु पर्ने परिस्थितिले जनतालाई आक्रोशित बनाउँदै ल्याएको थियो।
- पुराना दलहरुले परम्परागत राजनीतिक शैली निरन्तरता दिए। जहाँ गुटबन्दी, नातावाद, कृपावाद हाबी थियो। नयाँ विचार र नयाँ पुस्ताका लागि ति पार्टीभित्र खासै स्थान बन्न सकेन। जनताले पुरानै अनुहार, पुरानै भाषण र पुरानै शैलीको राजनीतिबाट देशले गति लिन नसक्ने महसुस गरे। उनीहरूले आफूलाई समेट्ने र आफना सरोकारलाई सम्बोधन गर्ने कुनै ठाउँ ति दलहरूमा पाएनन्।
- दशकौँको शासनकालमा पनि पुराना इस नेतृत्वको सरकारले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकेनन्। परिणामतः अध्ययन सकेका लाखौ युवा कामको खोजीमा विदेशिन बाध्य भए। युवा पुस्ताले आफ्ना समकालीनले पढाइ सकेर पनि देशमा भविष्य नदेखेर विदेशिएको देखे । शासकहरूले आफ्नो भविष्य बर्बाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन निर्णायक शक्ति नै बन्न अगाडि जैनजी आन्दोलन भयो ।
यसैगरी प्रतिवेदनले सभापति रवि लामिछानेको विकल्प नखोज्ने पनि संकेत गरेको छ। ‘पार्टी ‘रिफर्म’ गर्नुपर्ने र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने कुरा जायज भए पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य नहुने प्रतिवेदनमा उल्लेख गरिएको छ।
‘पार्टी ‘रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ।
प्रकाशित: २०८२ कार्तिक २१ गते शुक्रबार ०२:३३