काठमाडौँ: जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् प्रदेशको स्वायत्तता घोषणा गरी आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने बताएका हुन्।
मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले नेता एवं संसदीय दलका नेता सरोजकुमार यादव नियुक्तिपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्रदेश प्रमुखको हाताभन्दा बाहिर रिसोर्टमा यादवलाई रातमा मुख्यमन्त्रीमा नियुक्ति गरेर शपथ खुवाएपछि मधेशमा किचलो बढेको छ।
उक्त प्रकरणपछि राउतले सदियौँदेखि डराएर आफूहरू नेपाली शासकको गुलाम बनेको बताउँदै अब खुलेर बोल्नुपर्ने बताएका हुन्। संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गरिरहेको, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने र कटेजमा शपथ गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम भैरहेको आरोप उनले लगाएका छन्।
‘हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं। अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र? आन्दोलनको माग बमोजिम बनेको छ। त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ,’ उनले भनेका छन्।


