काठमाडौँ: नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित दजनौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। उनीहरूलाई अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन्।
कार्यक्रममा बोल्दै नेकपा एमालेमा पुन: फर्किएकी झाँक्रीले जेनजी आन्दोलनको भर्सेसमा नेकपा एमाले उभिएको बताइन्। कार्यक्रममा उनले ओलीलाई राष्ट्रवादी व्यक्तित्व कमरेड भन्दै सम्बोधन गर्दै जेनजीको नाममा भइरहेको क्रियाकलाप नितान्त सरकारविरुद्धको एउटा प्रहार भएको पनि उनको भनाई छ।
उनले भनिन्, ‘जेनजीको नाममा जे भइरहेको थियो। त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो। सरकारविरुद्ध थिएन भने सरकारसमक्ष माग कस्ले प्रस्तुत गरेको थियो ? जेनजी आन्दोलन युवा पुस्ताको एउटा आक्रोस थियो। त्यो सामान्य थियो। त्यसमा रोटी सेक्नको लागि सरकारका विरुद्ध जुनजुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले त्यसको नेतृत्व एउटा उभिएको छ।’
उनले अन्य कार्यकर्तालाई पनि एमालेमा फर्किन आह्वान गरिन्।‘सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हुन्छ। बाँकी नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौँ। रामकुमारी झांक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको,’ उनले भनिन्, ‘म आज भन्दैछु, सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन। अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ। व्यक्तिगत अवसर र लाभका लागि होइन।’
उनले इतिहासमा जे भएको थियो, जुन परिस्थितिमा भएको थियो त्यसको लागि सजाय तोक्ने जिम्मा समयलाई नै छाडिनुपर्ने बताइन्। उनले भनिन्, ‘खासगरी नेकपा एमाले नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मात्र होइन, लोकतान्त्रिक आन्दोलन, विकास, सुशासन र सम्मृद्धिको आकाङ्क्षा देखाउने पार्टी पनि एमाले नै हो।’


