काठमाडौँ: बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजनाको पुनर्निमाण सुरु भएको छ। आउँदो मंसिरभित्र एउटा विद्युतगृह (युनिट) सञ्चालन मा ल्याउने तयारी रसुवागढी हाइड्रोपावर लिमिटेडको छ। एउटा युनिटबाट ३७ मेगावाट बिजुली उत्पादन हुन्छ। हिउँदयाम सुरु भएसँगै स्रोत नदीमा क्रमशः पानीको बहाव घट्ने हुँदा बाँध स्थलमा सहज अवस्था आउनासाथ जलविद्युत केन्द्रको ३ वटा युनिट मध्ये एउटा युनिटबाट आगामी मंसिर मसान्तसम्म बिजुली उत्पादन गर्नेगरी काम अघि बढाईएको रसुवागढी हाइड्रोपावरका सूचना अधिकारी नरनाथ न्यौपानेले नेपाल क्लिक्सलाई बताए।
उक्त युनिट सञ्चालनका लागि कम्पनीले विद्युतगृहमा आवश्यकताअनुसार मर्मत सम्भार तथा प्रतिस्थापन गर्नुपर्ने इलेक्ट्रोमेकानिकल उपकरणहरूको खरीद कार्य अघि बढाएको उनले जानकारी दिएका छन्। एउटा युनिट सञ्चालनका लागि अस्थायी बाँध (कफर ड्याम) बनाउने काम सुरु गर्न लागेको छ। आउँदो बर्खाअघि नै तीनवटै युनिट सञ्चालनमा ल्याउने योजना रहेको उनले सुनाए।
‘तीनवटै युनिट सञ्चालनमा ल्याएर वर्खामा १११ मेगावाट बिजुली उत्पादन गर्ने कार्यतालिका तयार गरिएको छ, लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौँ,’ न्यौपानेले भने। उनले अहिले बाढीले भएको क्षतिको विवरण प्राप्त नभएको बताए। पहिलो युनिट सञ्चालनमा आएपछि मात्र क्षतिको विवरण यकिन हुने उनको भनाइ छ। आयोजनाको बाँधलगायत भित्री संरचनामा सामान्य वा ठूलो क्षति हुने सम्भावना रहेको उनको भनाइ छ।
हाल विद्युतगृहमा डुवानमा परेका उपकरणहरू निकाल्ने तथा सफा गर्ने कार्य सकेर मर्मत संभार तथा नयाँ खरिद गरी जडान गर्नुपर्ने सामाग्रीहरूको यकिन गर्ने कार्य सम्पन्न भएको छ।
आयोजनाको निर्माणमा संलग्न भई डिफेक्ट नोटिफिकेसन पिरियडमा रहेका ठेकेदारमार्फत् सकेसम्म मर्मत सम्भार तथा पुनःस्थापनाका कार्यहरू गराउन विभिन्न चरणमा वार्ता तथा छलफलहरू भइरहेको कम्पनीले जनाएको छ। बाँध स्थलअन्तर्गत पम्प हाउसको सरसफाई, दुई वटा रेडियल गेटमध्ये एउटा पूर्ण रूपमा खोल्ने, इन्टेक पाउन्ड सरसफाई गरी ३ मध्ये २ वटा डिसेन्डरको सरसफाई कार्य सम्पन्न भएको छ। यस्तै दुईवटा इन्टेक गेट खोल्ने र इन्टेक च्यानल सफा गर्ने कार्य जारी छ।
हेडवर्क्स र अस्थायी बाँध निर्माण गर्ने र थुप्रिएको माटो हटाउन तथा टेलरेस टनेल भित्रको थुप्रिएको माटो सफा गर्न टेलरेस जाने बाटो निर्माण गर्ने कार्य प्रारम्भ गरिएको छ। बाढीबाट भएको क्षतिको पूर्ण रूपमा यकिन गरी बीमा दावी र सोको फछ्योट हुन समय लाग्ने भएको र आयोजना/जलविद्युत केन्द्रको पुनःस्थापनाका लागि लाग्ने थप लागतका सम्बन्धमा परामर्शदातामार्फत लागत अनुमानको यकिन गर्ने कार्य भइरहेको उनले बताए।
हिमालयन एरभरेष्टसँग एक अर्ब ७३ करोड दाबी
क्षति भएका संरचना तथा मेसिन उपकरणहरूको प्रारम्भिक मूल्यांकन गरी बिमक कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा रसुवागढीले एक अर्ब ७३ करोड ८४ लाख रूपैयाँ बीमा दाबी पेस गरेको छ। अहिलेसम्म दाबी रकमको एक किस्ता रकम नपाएको जानकारी न्यौपानेले दिए।
गोसाईंकुण्ड गाउँपालिका वडा नंम्ब १ थुमन र वडा नम्ब। २ टिमुरेको सिमाना हुँदै बहने भोटेकोसी नदीको पानी उपयोग गरी आयोजनाबाट १११ मेगावाट बिजुली उत्पादन हुन्छ। रसुवागढी जलविद्युत आयोजनाबाट २०८१ पुस १६ देखि व्यापारीक विद्युत उत्पादन सुरु भएको हो। गत असार २४ मा तिब्बत क्षेत्रको हिमताल फुट्नाले सहायक खोला ल्हेन्दे नदीमा लेदो, गेग्रान तथा ठूला ठूला ढुङासहित आएको बाढी नेपाल–चीन सिमाना स्थित रसुवागढी हुँदै आयोजनाको स्रोत नदी भोटेकोसी आइपुग्दा रसुवागढी आयोजना र केन्द्रको बाँध स्थलको इन्टेक, डाइभर्सन वेयरलगायत बाँध स्थलका अधिकांश सिभिल संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ।
हाइड्रोमेकानिकल उपकरणहरू (ग्याट्री क्रेनहरू) बगाउनुका साथै अन्य हाइड्रोमेकानिकल गेट तथा उपकरणहरूमा क्षति भएको छ। बाँधस्थल जाने स्थायी पुलको जग, बाँध स्थलका संरचनाहरू लेदोले पुरिएको, आवास भवनहरू पूर्ण रूपमा क्षति भएको, उक्त आवास क्षेत्रमा पार्किङमा रहेका सवारी साधनहरू मध्ये ३ वटा बगाएको र ६ वटा बाढीले पुरेको छ। विद्युतगृह जाने स्थायी पुलको जगमा क्षति, टेलरेसबाट लेदोसहितको बाढी पसी विद्युतगृहको एआइभी फ्लोर तथा टर्वाइन फ्लोरमा रहेका इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल उपकरणहरू डुबानमा परी क्षति भएको छ।
यस्तै सिभिल तथा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल कार्यका ठेकेदारको आवास तथा स्टोरमासमेत क्षति भएको छ। बाढीले जलविद्युत केन्द्रको बाँध स्थल, टेलरेस, सर्ज साफ्ट, आवास क्याम्प जाने पहुँच सडकहरूको अधिकांश स्थानमा कटान गरी पहुँचमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जलविद्युत केन्द्रदेखि बाँधस्थल, सर्ज ट्यांक तथा टेलरेस सम्मको ११ केभी विद्युत प्रसारण लाईन, अप्टिकल फाइबर लाइन, टेलरेसमा रहेको टान्सफर्मर तथा पोलहरू बगाएको छ।
कम्पनीको ऋण १६ अर्ब ६९ करोड
आयोजना निर्माणको लागि आवश्यक पर्ने सम्पूर्ण दीर्घकालिन ऋण कर्मचारी सञ्चय कोषबाट प्राप्त हुने गरी ऋण सम्झौता भई सोको परिचालन भएका छ। गत असोजसम्म सञ्चय कोषलाई तिर्नुपर्ने साँवा रकम १० अर्ब १६ करोड २१ लाख रूपैयाँ छ। उक्त अवधिको ब्याज ६ अर्ब ६३ करोड ३५ लाख ६५ हजार पुँजीकृत भई कुल ऋण १६ अर्ब ७९ करोड ५६ लाख ६५ हजार रूपैयाँ कायम भएको कम्पनीले जनाएको छ। कोषलाई तिर्नुपर्ने ऋणको वार्षिक ब्याजदर गत साउनदेखि लागू हुने गरी ८ प्रतिशत कायम गरेको कम्पनीले जनाएको छ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ। स्वपूँजी अन्तर्गत ५१ प्रतिशत सेयर संस्थापक समूहको र ४९ प्रतिशत सर्वसाधारण सेयर रहेको छ। आयोजनाबाट व्यापारीक विद्युत उत्पादन सुरु भइसकेकाले कम्पनीले ऋण तिर्न सुरु गरी ९ वर्ष (३६ किस्ता) मा सञ्चय कोषसँगको सम्पूर्ण ऋण चुक्ता गर्ने योजनाअनुसार पहिलो किस्ता २०८१ को चैत मसान्तमा ६५ करोड १४ लाख ६० हजार रूपैयाँ भुक्तानी गरिएको छ। कम्पनीको नगद प्रवाहलाई व्यवस्थापन गर्न नबिल बैंकसँग ६.७५ प्रतिशत ब्याजमा ३९ करोड रूपैयाँ ऋण लिइएको थियो। विद्युत बिक्रीबाट प्राप्त रकमबाट २९ करोड भुक्तानी गरी हाल १० करोड भुक्तानी गर्न बाँकी रहेको छ।
बाढीका कारण जलविद्युत केन्द्र बन्द हुँदा विद्युत बिक्रीबाट तत्काल रकम प्राप्त नहुने र आयोजना/जलविद्युत केन्द्रको तत्काल पुर्नस्थापनाका कार्यहरू गर्न गराउन आवश्यक रकमको व्यवस्थापन गर्नुपर्ने भएकाले २०८२ को आषाढ मसान्तमा सञ्चय कोषलाई तिर्नुपर्ने ऋणको किस्ता रकम तिर्न बन्द भएको कम्पनीले जनाएको छ।
आयोजना बनाउन २४ अर्ब ९९ करोड
आयोजना निर्माणका बखत पनि विविध काबुबाहिरको परिस्थिति सिर्जना भई तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सुरु अनुमानको तुलनामा निर्माण लागत वृद्धि भएको थियो। जलविद्युत केन्द्रबाट व्यापारीक रूपमा विद्युत उत्पादन हुनु अघि (२०८१ पुस १५) सम्मको लागतका आधारमा आयोजनाको कुल निर्माण लागत निर्माण अवधीको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ। यसबाट आयोजना निर्माण लागतको कर्जाः स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई ७१ः२९ प्रतिशत कायम भएको छ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत शक्ति उत्पादन हुन्छ। बिजुली बेचेर कम्पनीले वार्षिक तीन अर्ब २५ करोड रूपैयाँ आम्दानी गर्छ।
बाढीका कारण हाल जलविद्युत केन्द्र बन्द रहेकाले चालू आर्थिक वर्षको कम्पनीको नगद प्रवाहमा भने उल्लेख्य असर पर्ने देखिएको छ।
