काठमाडौँ: क्रिकेट संघ नेपाल (क्यान) बाट प्राप्त ओटीटी प्रसारण अधिकारका आधारमा डिसहोम मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिसहोम गो एपमार्फत विशेष प्रत्यक्ष स्ट्रिमिङ गर्ने तयारी पूरा गरेको छ। एनपीएल २ का खेलहरू १६ मंसिर २०८२ सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछन्।
यसअनुसार एनपीएल २ को प्रत्यक्ष प्रसारण केवल डिसहोम गो एप तथा वेबसाइटमार्फत हुनेछ। युट्युबमा स्ट्रिमिङ उपलब्ध हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन प्रसारण गरिने डिसहोमले जनाएको छ, जसले दर्शकलाई उच्च गुणस्तरको विज्ञापनरहित स्ट्रिमिङ अनुभव प्रदान गर्नेछ।
एनपीएल २ हेर्नका लागि भुक्तानी इसेवा, खल्ती, भिसा र मास्टरकार्ड मार्फत सहज रूपमा गर्न सकिने डिसहोमले जनाएको छ। नेपाल तथा विदेशमा रहेका दर्शकले मोबाइल वालेट (इसेवा, खल्ती) तथा अन्तर्राष्ट्रिय कार्ड (भिसा, मास्टरकार्ड) प्रयोग गरेर सुरक्षित भुक्तानी गर्न सक्नेछन्। पास खरिद गरेपछि दर्शकले मोबाइल एप वा वेब ब्राउजरमार्फत खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
सदस्यता शुल्क नेपालभित्रका दर्शकका लागि रू ३००, मध्यपूर्वका दर्शकका लागि रू ५०० र अन्य देशका दर्शकका लागि अमेरिकी डलर १० पर्नेछ। एकचोटि सदस्यता लिएपछि सम्पूर्ण प्रतियोगिताका खेलहरू प्रत्यक्ष स्ट्रिमिङ, पुनः-प्रसारण तथा अन्य सामग्री सहित डिसहोम गोमा हेर्न सकिनेछ।

कहाँ–कहाँबाट हेर्न सकिनेछ?
डिसहोम गो मोबाइल एप (एन्ड्रोइड, आइओएस), एन्ड्रोइड टिभी र वेब ब्राउजर (वेबसाइटमार्फत) प्लेटफर्महरूमा उपलब्ध छ। नयाँ प्रयोगकर्ताले डिसहोम गो एप गुगल प्ले स्टोर र आइओएस एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन्।
डिसहोम गोले उच्च गुणस्तर र विश्वसनीय स्ट्रिमिङका लागि अन्तर्राष्ट्रिय ओटीटी समाधान प्रदायक मोबियोटिक्स तथा विश्वप्रसिद्ध क्लाउड/सामग्री वितरण प्रदायक अकामाई सँग साझेदारी गरेको छ। यी प्रविधि साझेदारहरूले अघिल्लो ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उच्च ट्राफिक व्यवस्थापन गरेको अनुभव भएकाले एनपीएल २ को स्ट्रिमिङ अझ सुदृढ, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध हुने डिसहोमले जनाएको छ।
डिसहोम मिडिया नेटवर्कका प्रतिनिधिका अनुसार, नेपाली प्रिमियर लिग २ मार्फत नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुर्याउने लक्ष्य रहेको छ। जसअनुसार इसेवा, खल्ती, भिसा र मास्टरकार्ड जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि प्रक्रिया अझ सरल, सुरक्षित र सुविधाजनक बनाइएको छ।
