काठमाडौं। पछिल्ला वर्ष निजी लगानीमा ‘मल्टिस्पेसियालिटी’ हस्पिटल सञ्चालनको क्रम बढेको छ। अर्बौं रुपैयाँ लगानीमा ठूला मल्टिस्पेसियालिटी हस्पिटलहरु सञ्चालन भइरहेका छन् भने धेरै निर्माणाधीन अवस्थामा छन्।हस्पिटल बिजनेस राम्रो देखिएपछि निजी क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुले यसमा लगानी बढाइरहेका छन्।
१६ वर्षदेखि भक्तपुरको मध्यपुर ठिमीमा सञ्चालन भइरहेको मध्यपुर हस्पिटल लिमिटेडले दुई अर्ब रुपैयाँ लगानी थपेर क्षमता विस्तार गर्न लागेको छ। क्षमता विस्तारपछि हस्पिटलको बेड संख्य तीन सय पुग्ने भएको छ। अहिले मध्यपुरले एक सय बेडको हस्पिटल सञ्चालन गरिरहेको छ। अब दुई सय बेड थप्ने हस्पिटलको योजना छ।
हस्पिटल विस्तार योजना हाल प्रारम्भिक चरणमा छ। हस्पिटल क्षमता विस्तार गर्न दुई अर्ब रुपैयाँ लगानी हुने भएको छ। जसमा ६८ प्रतिशत बैंकको ऋण र बाँकी ३२ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) मिश्रण हुने भएको छ। इक्विटी आम्दानी आंशिक रूपमा प्रमोटरमार्फत र बाँकी प्राथमिक सेयर (आईपीओ) जारी गरेर संकलन गर्ने योजना रहेको हस्पिटलले जनाएको छ। मध्यपुर हस्पिटलको चुक्ता पुँजी ८९ करोड ३० लाख रुपैयाँ छ।
व्यवस्थापनले पूर्ण इक्विटी संकलनपछि हस्पिटलको नयाँ पूर्वाधार निर्माण कार्य सुरु हुने जनाएको छ। भवन निर्माणको काम सक्न साढे चार वर्ष लाग्ने अनुमान गरिएको छ।
मध्यपुरले आफ्नो अस्पतालको क्षमता र सञ्चालन बढाउनको लागि एक प्रमुख विस्तार परियोजना सुरु गर्ने योजना बनाएको जानकारी दिएको छ। हस्पिटलले आफ्नो शैयाको क्षमता विस्तार गर्न नयाँ भवन निर्माण गर्दैछ।
साथै ओपिडी र आईपीडी सुविधाहरूको परिमार्जन र स्तरोन्नति पनि गर्ने भएको छ। हस्पिटल परियोजनाको कार्यान्वयनमा हुने ढिलाइले लागत बढाएर नगद प्रवाहका साथै समयसीमालाई असर गर्न सक्छ।
मध्यपुरले विशेष गरी काठमाडौं उपत्यकाभित्र स्थापित बहुविशेष अस्पतालहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।सन् २०१० मा स्थापित मध्यपुर अस्पताल १६ वर्षदेखि स्वास्थ्य सेवा व्यवसायमा संलग्न छ।
५२ करोड कारोबार
मध्यपुर हस्पिटलको व्यापार बढ्दै गएको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। २०२५ मा हस्पिटलले ५२ करोड सात लाख रुपैयाँ व्यापार गरेको छ। यस्तै सन् २०२४ मा हस्पिटलले ४९ करोड २० लाख, २०२३ मा ४१ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो। एक वर्षमा मध्यपुर हस्पिटलको साढे चार करोड रुपैयाँ व्यापार बढेको छ।


