काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सुरु भएदेखि नै सबै खेलहरू विभिन्न अनधिकृत वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रसारण हुन थालेपछि आधिकारिक ओटीटी प्रदायक डिशहोमले कडा चेतावनी जारी गरेको छ।
डिश मिडिया नेटवर्क लिमिटेड र नेपाल क्रिकेट संघ (क्यान) द्वारा जारी संयुक्त सूचनामा एनपीएलका सम्पूर्ण डिजिटल/ओटीटी प्रसारण अधिकार नेपाल र भारतबाहेकका सबै देशका लागि डिशहोमलाई मात्र प्रदान गरिएको स्पष्ट पारिएको छ। त्यसैले डिशहोम गो एपबाहेक अरू कुनै पनि प्लेटफर्मबाट खेल प्रसारण गर्नु गैरकानूनी हुने चेतावनी दिइएको छ।
युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटर, टेलिग्राम वा अन्य वेबसाइट/एपबाट एनपीएल खेलको लाइभ वा रेकर्ड सामग्री प्रसारण, अपलोड, सम्पादन वा पुनःवितरण गैरकानुनी भएको सूचनामा उल्लेख छ। यस्तो अनधिकृत गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सूचनामा अनधिकृत लिंकमार्फत खेल हेर्दा व्यक्तिगत जानकारी चुहिने, साइबर अपराधमा पर्न सक्ने जोखिम भएकाले सावधानी अपनाउन पनि दर्शकलाई अनुरोध गरिएको छ। अनधिकृत रूपमा खेल प्रसारण भइरहेको देखिएमा क्यान वा डिशहोमलाई तुरुन्त जानकारी दिनु आग्रह पनि गरिएको छ।


