काठमाडौं – थाइल्यान्डले आफ्नो नाम फिर्ता लिएपछि हङकङमा सोमबारदेखि सुरु हुने एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खेल्ने अवसर पाएको छ। थाइल्यान्डले समयमा भीसा नपाउने भएर नाम फिर्ता लिएपछि उक्त प्रतियोगितामा नेपाल सहभागी हुने भएको हो।
अब नेपाल सो प्रतियोगिता खेल्नका लागि आउने शनिबार वा आइतबार हङकङ जाने भएको छ। यो प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म आयोजना हुँदैछ।
यसअघि थाइल्यान्ड समूह ए मा भारत, पाकिस्तान र आयोजक हङकङको समूहमा थियो। अब नेपाल सोही समूहमा थाइल्यान्डको स्थानमा हुनेछ। यता भारत र पाकिस्तानले भने आफ्नो ए टिमलाई सहभागी गराउने छ। नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी हुनेछन्।
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ। दोस्रो खेलमा भारत र अन्तिम खेलमा आयोजक हङकङको सामना गर्नेछ। नेपालले पहिलो खेल १३ जुनमा, दोस्रो खेल १५ जुनमा र अन्तिम खेल १७ जुनमा खेल्ने तालिका रहेको छ।
समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ए टोली सम्मिलित छन्। दुवै समूहका शीर्ष दुई टिम सेमीफाइनल मापुग्नेछन्। सेमिफाइनल १९ जुनमा र फाइनल २१ जुनमा हुनेछ।
नेपाली टिमयले यसअघि मलेसियासँग उसकै घरेलु मैदानमा पाँच खेलको टी–२० खेलेको थियो। सो सिरिजमा नेपालले ३–२ को जित निकालेको थियो।


