काठमाडौं – मलेसियामा जारी पाँच खेलका टी-२० शृंखलाको तेस्रो खेलबाट नेपालले अग्रता बनाएको छ। घरेलु टोली मलेसियामाथि बिहीबार सम्पन्न खेलमा नेपालले लगातार दोस्रो जित निकालेसँगै शृंखलामा २–१ को अग्रता बनाएको हो।
पहिले ब्याटिङ गरेको नेपालले मलेसियालाई १११ रनको लक्ष्य प्रदान गरेको थियो। जवाफमा मलेसियाले सो रन बनाउन नसकेपछि नेपालले घरेलु टिमलाई २७ रनले हराएको हो।
नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाएको थियो। नेपालविरुद्ध मलेसियाका महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रन र विनिफ्रेड दुराईसिंघमले २० रन बनाउँदा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १–१ विकेट लिए। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाईन् भने ज्योती पाण्डे र सीता रानामगरबीच ३५ रनको साझेदारी बन्यो। उनीहरुले क्रमश २३ र २१ रन बनाएका थिए। नेपालले दोस्रो ओभरमा नै व्यक्तिगत २ रनमा ओपनर कविता कुवँरलाई गुमाएको थियो।
सीता र ईन्दु बर्माले पनि ३२ रनको साझेदारी गरे। बर्माले ३० बलमा २० रन बनाईन्। मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १–१ विकेट लिए।


