काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिमले लगातार चौथो जित निकालेको छ। बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जित हो। चार खेल खेलेको लुम्बिनीले तीन खेलमा हार बेहोरेको छ। पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी त्यसपछि क्रमश: कर्णाली एक्स र काठमाडौँ गोर्खाजसँग पराजित भएको थियो।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव चार ओभरमा १४३ रन बनाउँदै अलआउट भएको थियो। जवाफी ब्याटिङमा सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १० बल बाँकी छँदै उक्त लक्ष्य पूरा गर्यो।
लुम्बिनीका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनको योगदान गरेका थिए। बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले ती, हर्मित सिंहले तीन र हेमन्त धामीले दुई विकेट झारे।
पछि ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुदेखि नै राम्रो प्रदर्शन गर्यो। सुदूरपश्चिमका तर्फबाट जोश ब्राउन ७ बलमा दुई चौकासहित ९ रनको योगदान दिएर आउट भए। अर्का ओपनर विनोद भण्डारीले नट आउट रहँदै ६९ रनको योगदान दिए। ४९ बल खेलेका उनले चार छक्का र पाँच चौका हाने।
यस्तै क्रिस लिन १६ र आरिफ शेख ३९ रन बनाएर आउट भए। त्यसपछि ग्राउन्डमा आएका हर्मित सिंहले एक छक्कासहित तीन बलमा ७ रनको योगदान दिए।


