बनियानी। पूर्वी नाका काँकरभिट्टाबाट चाल्र आर्थिक वर्षको चार महिनामा १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्ब रुपैयाँको निर्यात भएको छ, गत साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार रुपैयाँबराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।
गत वर्षको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४.१२ प्रतिशत बढेको छ। यो वर्षको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँबराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ। गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान निर्यात भएको थियो।
चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट ५ अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व संकलन गरेको छ। आयातबाट पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट १२ करोड ३४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको हो। राजस्व असूलीमा भने १५.६६ प्रतिशत अर्थात ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको कार्यालयले जनाएको छ।
काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवा तथा सुठो, काउली, बन्दाकोभी, ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ।
अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ। ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँको अलैँची निर्यात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४१ लाख ३२ लाख रुपैयाँ बढी हो। चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ। यो वर्षको चार महिनामा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँबराबरको चियाको निर्यात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशत कमी हो।
प्लाइउड निर्यातमा ५२.७ प्रतिशत कमी आएको छ। गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक अर्ब २५ करोड ७२ लाख ५९ हजार रुपैयाँबराबरको प्लाइउड निर्यात भएको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ५० लाख १८ हजार रुपैयाँको मात्र निर्यात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ६६ करोड २२ लाख ४१ हजार रुपैयाँ कमी हो।
यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षमा १६ करोड ४५ लाख १२ हजारको निर्यात भएकोमा चालु वर्षमा ३८ करोड ६२ लाख ६८ हजार रुपैयाँको निर्यात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२ करोड १७ लाख ६८ हजार रुपैयाँ बढी हो।
कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ। चालू आर्थिक वर्षको चार महिनामा ३७ करोड ९९ लाख रुपैयाँको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।
अम्रिसो निर्यातमा २३.९ प्रतिशत गिरावट आएको छ। २६ करोड २५ लाख रुपैयाँको अम्रिसो निर्यात भएको छ। अदुवा सुठो निर्यात ३.२ प्रतिशत वृद्धि भएको छ। २४ करोड २४ लाख १६ हजार रुपैयाँ बराबरको अदुवा र सुठो निर्यात भएको छ। काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात ३६.१ प्रतिशत वृद्धि भएको छ। चालु आर्थिक वर्षमा ११ करोड ३१ लाख रुपैयाँबराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयले जनाएको छ।
उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ। ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ। नौ करोड १२ लाख रुपैयाँ बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा एक करोड ५७ लाख रुपैयाँ बराबरको मुसुरो दाल निर्यात भएको थियो।
चालु आर्थिक वर्षमा तीन करोड ७८ लाख रुपैयाँ बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ। फलामे पाता निर्यात ९७.३ प्रतिशत गिरावट आएको छ।


