काठमाडौँ: चीनको युनान प्रान्तस्थित क्विजिङ शहरमा आयोजित ७औँ लान्चाङ–मेकाङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन कलाकार बुद्धि तामाङ र टिकटकर मिस पवि भनेर चिनिने पवित्रा शाकी चीन पुगेका छन्।
फिल्म महोत्सवमा नेपालबाट तामाङ, मिस पविसहित नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)का अध्यक्ष तथा निर्देशक केपी पाठक र समीक्षक समाजका उपाध्यक्ष अनिल यादव पनि सहभागी भएका छन्। महोत्सव नोभेम्बर २७ देखि सुरु भई नोभेम्बर ३० मा सम्पन्न भएको छ।
यसअघि गत वर्ष उक्त महोत्सव इण्डोनेशियामा आयोजना गरिएको थियो। लान्चाङ–मेकाङ क्षेत्रीय मुलुकहरूबीच सांस्कृतिक आदानप्रदान, फिल्म प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ।
नेपाली प्रतिनिधिमण्डलको सहभागिताले चीन तथा दक्षिण–पूर्व एसियाका फिल्म क्षेत्रसँग नेपालका कलाकार र समीक्षकबीच सम्बन्ध विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


