काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तरगत आजको दोस्रो खेलमा एडम रोसिङटनको शतकमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २०१ रन बनायो।
यो जारी सिजनको दोस्रो उच्च स्कोर हो। यसअघि विराटनगर किङ्सले पनि पोखराविरूद्ध २२० रन हिर्काएको थियो। यो एनपिएलमा हालसम्म उच्च हो।
आज पोखराका लागि यो स्कोर खडा गर्नमा एडमले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे। यस्तै, जेशन रोयले ४६, धनन्जय लक्षनले २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे।
कर्णालीका नन्दन यादव र मार्क वाटले एक/एक विकेट लिए। दुवैै टोलीका लागि यो खेल ‘प्लेअफ’ पुग्न महत्त्वपूर्ण छ।
चारमा एक खेलमात्रै जितेको पोखरालाई यो खेल जिते ‘प्लेअफ’को यात्रामा पुग्न सहज हुनेछ। कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ।
यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई छ विकेटले पराजित गरेको थियो।


