काठमाडौं- बिहीबार दिउँसो एन्फा कम्प्लेक्स मैदानमा ए डिभिजन लिगको अन्तिम खेलका लागि दुई टिम भिडिरहेका थिए। लिगको अंकतालिकाको पुछारमा रहेको खुमलटार र उपाधि जितिसकेको टिम चर्च बोइज खेलिरहेका थिए। अन्तिम खेलमा यी दुवै टिम जित निकाल्न चाहन्थे।
एउटा टिमलाई ए डिभिजनमा रहनको लागि अर्कोलाई भने उपाधि उत्सवलाई थप रोमाञ्चक बनाउन। त्यसैले खेल निकै दबाबपूर्ण थियो। खेल खेलाइरहेका रेफ्री प्रज्वल क्षेत्री र सहायक रेफ्रीहरु किशन कन्हैया यादव र हरिश कार्की धेरै दबाबमा देखिन्थे।
खेलाडी र अफिसियल सानोसानो कुरामा पनि आक्रोशित भइरहेका थिए। पहिलो हाफको अन्त्यतिर आइपुगेको बेलामा चर्च बोइजका डिफेन्डर कमल श्रेष्ठले खुमलटारका खेलाडीलाई लाइनबाहिर पुग्ने गरी धकेलिदिए।
त्यसअघि खुमलटारले पेनाल्टी पाएको समयमा भने चर्च बोइजका खेलाडीहरुले पेनाल्टी बक्सभित्र रेफ्रीसँग दुई मिनेट लामो विवाद गरेका थिए। यता पहिले नै गोल निकालिसकेको चर्च बोइज १–० ले अघि थियो। खेलकाे १३औँ मिनेटमा चर्च बोइजका मनोज राईले खुमलटारविरुद्ध गोल गरेका थिए।
उसलाई गोल बचाउनु महत्वपूर्ण थियो। त्यसैले त्यो पेनाल्टीबाट बराबरी भए चर्च बोइज पछि पर्न सक्थ्यो। त्यसैले उनीहरुले विवाद गरेका थिए।
यता मेसुके ओलुमेउले पेनाल्टी प्रहार गरे, तर गोल गर्न सकेनन्। त्यसको केही मिनेटमा पहिलो हाफको निर्धारित समय सकियो। रेफ्रीले चार मिनेट थप्ने योजना बनाए। थप समयमा खुमलटारले लगातार अट्याक बनाइरहेको थियो।
चर्च बोइजको पेनाल्टी बक्समा अनन्त तामाङको हातमा बलले लाग्न पुग्यो। खुमलटारकै मैदानतिर फर्किएका अनन्तको हातमा बलले लागेको सबैले देखिहाले। तर विपरीत दिशामा रहेका रेफ्रीले देखेनन सायद। रेफ्री प्रज्वलले पेनाल्टी दिन उपयुक्त ठानेनन्।
पेनाल्टी नदिने निर्णय गरेपछि खुमलटारका व्यवस्थापक अञ्जनले हातमा रहेको पानीको बोतल मैदानतर्फ फ्याँकिदिए। उनी दौडिएर रेफ्री भएको ठाउँमा पुगे र त्यहीँ झगडा गर्न थाले। उनीसँगै टिमका सहायक प्रशिक्षक सबै पछिपछि लागे। खुमलटारको बेञ्चका सबै खेलाडी र अफिसियल मैदानमा पसे।
फुटबलमा यस्तो कार्य गर्नेलाई रातो कोर्डको सजाय हुन्छ। तर त्यहाँ कार्ड दिने अवस्थै बनेन। सबै रेफ्री र अफिसियल झगडा छुट्याउन मैदानमा पुगे। टिमबाहेकका एन्फाका कर्मचारी र पदाधिकारी नै मैदानभित्र पसे। कसैले झगडा सम्हाले, कसैले रमिता हेरे।
त्यसपछि लामो समय खेल सञ्चालन नै भएन। मैदनमा पानीको बोतल अरुले पनि प्रहार गरे। खुमलटारलाई समर्थन गर्न एन्फा मैदान पुगेका सबै समर्थक प्यारापिटमै रेफ्रीविरुद्ध नाराबाजी गर्न थाले।
‘यो रेफ्री खराब, ‘यो रेफ्रीले थ्रिस्टारसँग कति पैसा खायो’, ‘रेफ्रीको लाइसेन्स खारेज गर’, ‘रेफ्रीका लाइसेन्स चेक गर’ लगायतका नाराहरु लाग्न थाले।
यता चार्च बोइज भने निरीह रह्यो। लामो समय खेल गराउन रेफ्रीले मानेनन्। त्यसअघि नै उनीहरुले खुमलटारका चार जनाविरुद्ध रातो कार्ड देखाइसकेका थिए। रेफ्रीले सुरक्षाको माग गर्दै खेल रोकेका थिए।
रोकिएको पहिलो हाफको खेल आधा घण्टापछि मात्र सञ्चालन भएको थियो।



