काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन्।
कोटेश्वरमा भएको पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको उल्लेख गरेका हुन्।
‘अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन। अरू पार्टीको माग पूरा नभएर बाहिरिएका होलान्,’ अध्यक्ष राउतले भने।
अध्यक्ष राउतले सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि वर्तमान नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार नफेरिने उल्लेख गरे। उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने स्पष्ट पारेका थिए।
