कैलाली: आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र स्थानीय व्यवसायी सूर्यबहादुर थापाको संयुक्त लगानीमा कैलालीको चिसापानीदेखि राजकाँडासम्म जालपादेवी केबलकार निर्माण तीव्र गतिमा भैरहेको छ। आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको केवलकारका लागि आवश्यक संरचना निर्माणको काम धमाधम भैरहेको छ।
सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले केबलकारको निरीक्षण गर्न कैलाली पुगेका छन्। पहिलो चरणमा केबलकार, पार्किङ र कार्यालय भवन निर्माण सकेर केबलकार सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ। करिब सात अर्ब सयुक्त लगानीमा केबलकार आयोजना निर्माण भैरहेको हो।

आईएमई ग्रुपको पाँच अर्ब रुपैयाँको लगानीमा निर्माण हुने केबलकारका लागि १४ वटा टावर बनाइँदैछन्, जसमध्ये सातवटा निर्माण भैसकेका छन्। केबलकारमा ३४ वटा गोन्डुला रहनेछन्। केबलकारको कुल लम्बाइ ३.१ किलोमिटरको छ। सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ। केबलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण भइरहेको केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिनुका साथै समग्र सुदूरपश्चिम प्रदेशकै गेम चेन्जर परियोजना सावित हुने आईएमई ग्रुप तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले बताएका छन्।
निरीक्षण तथा अवलोकनका क्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रले तोकिएको समयमा तोकिएकै बजेटमा काम सम्पन्न गर्ने गरेको बताउँदै केबलकार तथा रिसोर्टका बारेमा धेरै जिज्ञासासमेत राखेका थिए।

कर्णाली नदीको चिसापानी पुलेनजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ। आईएमई ग्रुपले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा पनि केबलकार निर्माण थालेको हो।
केबलकार निर्माणका लागि आवश्यक उपकरण अष्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइएको छ। केबलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछ।
केबलकार निर्माणको आवश्यक तयारी गत वर्ष पुसदेखि गरिएको थियो।

