काठमाडौँ: जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा म्याच फिक्सिङ गराउन आएका एक भारतीयसहित एजेन्टविरुद्ध मुद्दा दर्ता गरेको छ। प्रहरी प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौँमा भारतको हरियानास्थित पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाकी २४ वर्षीय रेबिका सिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेको हो।
प्रहरी अनुसन्धानका क्रममा उनीहरूले म्याच फिक्सिङका लागि जनकपुर बोल्ट्सका एक खेलाडीलाई एक करोडदेखि पाँच करोड रुपैयाँसम्मको अफर गरेको खुलेको छ। अभियोगपत्रमा उनीहरूले इन्स्टाग्राममा डिरेक्ट मेसेज गरी खेलाडीसँग संवाद गरेर काठमाडौँस्थित दूसित प्रिन्सेस होटलमा भेटेर म्याच फिक्सिङको प्रस्ताव राखेका थिए।
त्यसपछि प्रहरीले मंसिर २ गते साँझ लाजिम्पाटस्थित होटल दूसित प्रिन्सेस होटलअगाडि सडकबाट नियन्त्रणमा लिएको थियो।
परिवर्तित नाम २६ परिसर (४४) (०८२।०८३) नाम गरेको खेलाडीलाई भेटघाटको लागि बोलाई भेटघाट गरी प्रतिवादी सिंहले खेलको दौरानमा रन आउट हुन गर्नको लागि नेपाली रु. ५ करोड रुपैयाँसम्मको अफर गरेका थिए।
प्रतिवादी दिलप्रित सिंहका अनुसार उनी भारतमा बस्दादेखि नै स्टेक, बेटबुक२५० र किंग जस्ता नामक अनलाइन साइटमा खाता खोली सट्टेबाजी खेल्दै आएका थिए। पछिल्लो एक वर्षअघि रेविका सिंहलाई पनि उनले सट्टाबाजी खेल्न सिकाएका थिए। दुवै जनाले एकै खाताबाट बारम्बार खेल्दै ठूलो रकम जित्ने लोभ बढेपछि एनपिएलका खेलाडीलाई प्रयोग गर्ने योजना बनेको बयानमा उल्लेख छ।
सट्टाबाजीबाट ठूलो आम्दानी गर्ने सोच बनाएका उनीहरू दुबै जनाले एनपिएलमा खेल्ने नेपाली क्रिकेटरहरूको सूची इन्स्टाग्रामबाट खोज्न थाले।
रेविकाको Ruby 2075 नामक अकाउन्टबाट खोलिएको R-U-B-B-Y-THAKUR ID मार्फत अनेक खेलाडीलाई सन्देश पठाइएको पाइएको प्रहरी अनुसन्धानका क्रममा देखिएको छ।
ती मध्ये एक खेलाडीले मात्र सन्देशको जवाफ दिएपछि योजना अगाडि बढेको हो। जवाफ दिने खेलाडीसँग सम्पर्क भएपछि लाजिम्पाटस्थित होटल दूसित प्रिन्सेस को लबीमा दुवैले पुगेर प्रत्यक्ष भेट गरेका थिए। उनीहरूले खेलको निर्धारित ओभरमा जानी–जानी रनआउट हुन प्रस्ताव गर्दै त्यसको बदलामा ५ करोडसम्म दिने प्रलोभन देखाएका थिए।
खेलाडीसँग सांकेतिक संकेतमार्फत जानकारी लिनुपर्ने, रनआउट गरेपछि अनलाइन जुवाबाट ठूलो रकम जित्न सकिने भन्दै सिंहले खेलाडीलाई कसरी रनआउट हुने भनेर टेक्निकल निर्देशन दिएको बयानमा बताएका छन्।
यस्तै रेबिकाले पनि बयानमा उक्त प्रस्ताव गरेको स्वीकार गरेकी छन्। ‘हामीले खेल्ने अनलाईन बेटिङ साइटबाट छोटो समयमा नै राम्रो आम्दानी गर्न सोच बनाई निज नेपाली खेलाडीलाई रकम दिने प्रलोभन देखाई आफ्नो प्रभावमा पार्न खोजेका हौँ। यसरी नेपाली खेलाडीलाई आथिक प्रलोभन देखाई अनलाइन सट्टेबाजी खेली सोबाट आर्थिक लाभ लिन खोज्नु नै मेरो गल्ती भयो। जनकपुर बोल्ट्स क्बलबाट एनपीएल लिगमा क्रिकेट खेल्ने नेपाली क्रिकेटर परिवर्तित नाम २६ परिसर ४४(०८२/०८३) लाई क्रिकेट गेममा हामिहरूले बताए बमोजिकको शर्तमा आफूखुशी रन आउट हुन र सो वापत अनलाईन बेटिङ साइटबाट सट्टावाजी खेलाई आर्थिक लाभ लिने उद्देश्यले निजलाई १ करोड सम्मको नगद रकम दिने प्रस्ताव राखी सट्टावाजी खेलाउन खोज्नु नै म र प्रतिवादी दिलप्रित सिंहको ठुलो गल्ती भयो। उक्त कसूरमा म र मसँगै पक्राउ परी आएका प्रतिवादी दिलप्रित सिंहको संलग्नता रहेको छ। अन्य कोही कसैको संलग्नता छैन,’ उनले भनेकी छन्, ‘मैले नेपालमा भइरहेको एनपीएल लिगलाई नै प्रभाव हुने गरी नेपाली खेलाडीलाई रन आवट हुन र सो भएवातप १ करोड देखि ५ करोड सम्मको नगद दिने प्रस्ताव लिई नेपाली खेलाडीहरुलाई निजहरु बस्दै आएको होटलमा समेत पुगी भेट्न जानु नै मेरो गल्ती भयो।’
उक्त सबै कार्य दिलप्रित र आफ्नो योजनामा भएको उनले बताएकी छन्। उनकाअनुसार उनीहरूले ती खेलाडीलाई नगद रकम उपलब्ध गराउने प्रलोभन देखाएका थिए।
खेलाडीले उक्त प्रस्ताव तत्कालै अस्वीकार गरेका थिए। तिनै सोही खेलाडीले प्रहरीलाई उक्त जानकारी गराएपछि दुवै जनालाई पक्राउ गरिएको थियो।


