काठमाडौंलुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो।
१३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.४ ओभरमा सबैं विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो। विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए।
यस्तै नरेन भट्टले २१ रन बनाए। बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए। उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए।
त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए। यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे। रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए।
बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए। एनपिएलको फाइनल खेल शनिबार हुनेछ।


