काठमाडौँ: पछिल्लो समय मुलुकमा अर्बौं रुपैयाँ लगानीमा जनरलदेखि मल्टिस्पेसियालिटी अस्पतालमा निजी क्षेत्रको लगानी बढिरहेको छ। अस्पताल बनाउन बैंक तथा वित्तीय संस्थाको अर्बौं रुपैयाँ ऋण लगानी भएको छ।
यसैगरी स्थानीय व्यवसायी डा. सुमन आचार्यले एकल लगानीमा झापाको दमकमा एक सय बेड भएको बाल अस्पताल (चाइल्ड केयर) सञ्चालनमा ल्याउने भएका छन्। उनले एक अर्ब ४४ करोड २० लाख रुपैयाँ लगानीमा जीबी मेटरनिटी एन्ड चाइल्ड केयर जनरल हस्पटिल प्रालि सञ्चालनमा ल्याउन लागेका हुन्।
अस्पतालको हालसम्म आधा काम सकिएको छ। यस्तै ४२ प्रतिशत वित्तीय प्रगति भएको छ। अस्पताल दुई हेक्टर क्षेत्रफलमा रहेको छ। अस्पतालको स्थापना सन् २०२० मा भएको हो। अस्पताल बनाउन ६९ प्रतिशत बैंकको ऋण र बाँकी ३१ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। एक अर्ब रुपैयाँ ऋण र बाँकी ४२ करोड २० लाख रुपैयाँ संस्थापकको स्वपुँजी लगानी हुने भएको छ।
कुल इक्विटीको साढे ४७ प्रतिशत खर्च भइसकेको छ। निर्माणाधीन अस्पताल दमक नगरपालिका वडा नम्बर ९ मा रहेको भाटभटेनी सुपरमार्केटको छेउमा अवस्थित छ। जुन झापाको प्रमुख स्थानहरू मध्ये एक मानिन्छ। प्रस्तावित अस्पताल पूर्व–पश्चिम राजमार्ग नजिकै छ। नगरपालिकाको प्रमुख सार्वजनिक सञ्जालहरूमा पहुँच छ।
मुलुकको पूर्वी भाग र सीमावर्ती भारतीय राज्यहरू दुवैबाट बिरामीहरूलाई सजिलो पहुँच प्रदान गर्दछ। राम्रो स्थानले अस्पतालको बिरामीहरूलाई आकर्षित गर्ने र राख्ने क्षमतालाई उल्लेखनीय रूपमा बढाउन सक्ने भएकाले बिरामीहरूको ओकुपेन्सी र नगद प्रवाह उत्पादन क्षमतामा असर पर्छ।
अस्पतालका सञ्चालक डा. आचार्यको चिकित्सा क्षेत्रमा एक दशकको अनुभव छ। यसबाहेक उनी पेट्रोल पम्प, एमआरएफ टायरको डिलरशिप र घरजग्गा सम्बन्धी विभिन्न व्यवसायमा संलग्न छन्।


