२०८३ कार्तिक ११ गते मङ्गलबार

श्रीकृष्णलाई द्रौपदीको पत्र

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, पुस ६
krishna_rimal

दूतहरूद्वारा प्रेषित समाचारअनुसार द्वारकानगरी जलसमाधिमा विलीन भैसकेको छ। हाम्रा परम हितैषी एवं महाभारत युद्धका पथप्रदर्शक श्रीकृष्णले देह त्याग गरेको खबर पुष्टि हुन आएकाले म महाराज युधिष्ठिर, राजसभासमक्ष शोक प्रस्ताव प्रस्तुत गर्दछु। देशका समस्त वाणिज्य केन्द्र, सरकारी अड्डा तथा नगरका प्रमुख चोकहरूमा श्रीकृष्णको मूर्ति स्थापना गरी हस्तिनापुरको राष्ट्रिय ध्वजा आधा झुकाएर राष्ट्रिय शोक मनाउन म निर्देश गर्दछु।

यस विषम घडीमा उपस्थित मान्यजन एवं आराध्य देवी-देवताहरूलाई साक्षी राखी म यस साम्राज्यको एकमात्र उत्तराधिकारी परीक्षितलाई राजा घोषणा गर्दछु। आजैका मितिदेखि म सम्पूर्ण राजकाज त्याग गरी सन्यास लिने संकल्प गर्दछु। राजगुरुलगायत अन्य जान्ने ज्योतिषीहरूलाई शुभ राज्याभिषेक र सन्न्यास यज्ञको साइत तय गर्न विधानअनुसार आदेश दिन्छु। आज मध्यरातको शून्य समयपछि कलियुगको प्रारम्भ भएको घोषणा गर्दै म हस्तिनापुरको नरेशको पदबाट विदा हुन्छु।

युधिष्ठीर
चैत्र शुक्ल प्रतिपदा
इशापूर्व ३१०२

खोपीको झ्यालबाट एकतमासले उदाउँदो जून हेरिरहेकी थिएँ। जेठी सुसारेले हतासिँदै महाराज युधिष्ठिरको राजकीय त्यागपत्रको प्रतिलिपि लिएर आइन्। पत्र पढेपछि युधिष्ठिरले राजकाज त्यागेको भन्दा पनि, तिमी नरहेको खबरले हृदय विदीर्ण भयो। एकबाजि त पूरै हस्तिनापुर नगरका नगरबासी ब्युँझिनेगरी चिच्याउँदै रुन मन लाग्यो। दरबारमा बसुन्जेल दरबारका नियमहरू मान्नु नै पर्ने थियो, त्यसैले तिमीले सम्झनास्वरुप दिएका मयूरका प्वाँखहरूले यो मनोवाद लेख्दै छु। मैनबत्तीको पिलपिले उज्यालोमा मेरा आँसुका ढिकाहरू पत्रमा खसिरहेका छन्।

प्रिय सखे,
पाञ्चाल राज्य सम्राट द्रुपदले द्रोणाचार्यसँगको आफ्नो अपमानको बदला लिन पुत्रेष्टि यज्ञ गरेपछि दाजु धृष्टद्युम्न र म सँगसँगै जन्मियौँ। जन्म नै बदलाको उद्देश्यले भएर होला, म पूरै जीवनभर अरूको बदलाको लागि प्रयोग भएँ। यज्ञसेनी वा यज्ञसूता भन्ने पिताको पुकारले प्रफुल्लित हुने मलाई पिताले ममा ऋतुकाल (रजस्वला) सुरु नहुन्जेल छोरा जस्तै गरी लुकाएर हुर्काउनुभयो। पिताको आफ्नै प्रतिशोधका लागि मैले आफ्नो स्वरूपलाई पिताले इच्छाएको स्वरूपमा बाँचेँ। बढ्दै गएका छातीका स्वरूपहरू लुकाउन नमिल्ने भएपछि बल्ल म द्रौपदी बनेँ। कालो वर्णकी भएकीले परिवारभित्र मलाई कृष्णा भनेर सम्बोधन गर्थे। तर माता पृषती मलाई श्यामा भन्नुहुन्थ्यो।

शिशुपालको वधपछि सुदर्शन चक्रले तिम्रा औँलामा बनाएको घाउ मैले मेरो सारीको पारी च्यातेर मलमपट्टी गरेजस्तो अहिले असह्य चोट लागेको मेरो हृदयलाई सम्झाउने कोही छैनन्। यतिबेला पिता द्रुपदको आँगन, दरबारका आँखीझ्याल र चोक तथा बगैँचाहरू सम्झँदै स्मृत हुँदा हृदय निचोरिएर झरेका यी आँसुबाहेक तिमीमा समर्पण गर्न मसँग अरू केही बाँकी छैन। यही पल त्यहीँ पुगेर तिमीसँगै डुलेका खण्डहरूमा तिम्रा पैतालाका डोबहरू सुम्सुम्याउँदै रुन मन लागेको छ, तर म त्यसो गर्न सक्दिनँ।

सखे,
राजसी शिक्षा सुविधामा पढे-बढेकी म स्वयंवरपछि एउटा साधारण कुटीमा पाँच पतिकी पत्नी बनेर बाँच्नुपर्ने त्यस्तो के गल्ती गरेकी थिएँ ? विधाताले तय गरेको प्रारब्ध मानेर प्रत्येक रात आफूलाई धिक्कारेर बाँचेँ। लाक्षागृह घटनापछि अज्ञातवास बसेका पाण्डवहरूलाई तिमीले सायद स्वयंवर सभामा नलगाएको भए म आज अर्कै द्रौपदी हुन्थेँ होला। तिम्रा हजुरबुबा शूरसेनकी छोरी, माता पृथा या तिम्री फूपू र तिमी मिलेर मलाई किन यसरी बाँड्यौ ? फूपू-भतिजको यो चक्रमा म किन बलि भएँ ? शूरसेनले आफ्ना फूपूका छोरा कुन्तीभोजलाई दत्तक ग्रहण (धर्मपुत्र) को लागि आफूलाई समर्पण गरेको तथा सूतपुत्र भनिएका अङ्ग देशका राजा कर्ण आफ्नै जेठा पुत्र रहेको थाहा पाएपछि माता कुन्ती वैरागिनी हुनुभयो र युद्ध समाप्ति लगत्तै सन्यासी बनी वनवास जानुभयो। मेरो यस संसारमा मलाई बुझ्ने तिमीपछि उहाँ नै हुनुहुन्थ्यो। यो गहिरो साँझमा म झनझन एक्ली हुँदै गइरहेकी छु। मत्रै केही क्षणअघि हस्तिनापुरकी पूर्व महारानी भएकी म आज जीवनप्रति अझ बढी वैरागीएकी छु।

इन्द्रप्रस्थको सभाभवनमा महाराज युधिष्ठिरद्वारा राजसूय यज्ञ सम्पन्न गरेपछि दैत्य वास्तुकार मयद्वारा इन्द्रप्रस्थको भव्यता अभिवृद्धिका लागि उपहारस्वरूप अद्भुत कलाकारीपूर्ण मय भवन बनाइदिएका थिए। जमिन जस्तो देखिने ठाउँमा पानी र पानी जस्तो देखिने ठाउँमा जमिन थियो। म सधैँ त्यहाँ पुग्दा झुकिन्थेँ। एकदिन देशाटनमा निस्केका हस्तिनापुर युवराज यहाँ आए। म जस्तै झुकिएर उनी नराम्ररी लडे। यो दृश्यले खै के भएर हो म हाँसेँ, लाक्षागृह प्रसङ्गले सायद मभित्रैबाट रुष्ट थिएँ। जिउँदा दाजुहरूलाई एकै घरमा जलाउन गरेको कृतघ्न कार्यको सायद यो उपहासको हाँसो थियो।

महाराज युधिष्ठिरलाई म हरेक भेटमा द्यूतक्रिया त्याग गर्न आग्रह गर्थेँ। महाराज हरेक पुरुषमा कुनै न कुनै नशा आवश्यक हुन्छ भन्नुहुन्थ्यो। उहाँको यो नशाले हामी र सिङ्गो हस्तिनापुरलाई निकै भारी पर्यो। खाण्डवप्रस्थ रूखो जमिन र असुरक्षित वन भएकोले १२ वर्षको वनवास र एक वर्षको अज्ञातवासपछि फर्केका पाण्डवहरूले आधा राज्यको अधिकार हुँदाहुँदै पनि इन्द्रप्रस्थ, पाण्डप्रस्थ, सोनप्रस्थ, तिलप्रस्थ र बाघप्रस्थ मागेका थिए। प्रत्येक गाउँमा एक-एक जना पाण्डव रहने र उन्नत गाउँ निर्माण गरेर पाण्डवहरू आफू-आफैँमा प्रतिस्पर्धा गर्ने मनसायमा थिए। सानो क्षेत्रमा सभ्य र शान्त जीवनशैली अँगाल्ने हाम्रो योजनामा युवराज दुर्योधनले सियोको टुप्पो जति जमिन पनि नदिने भनी ठाडो हस्तक्षेप गरे। प्रायः पाण्डवहरू प्रति तिक्तता पोख्दा उनका डरलाग्दा आँखाले मतिर तिरस्कारपूर्वक हेरेका हुन्थे। अन्ततः पञ्चप्रस्थबाट सुरु भएको झगडा ‘मरे मोक्ष, बाँचे राज्य’ भन्दै मोक्षदा (मार्ग शुक्ल) एकादशीका दिन धर्मोपदेशसहित धर्मयुद्धको आह्वान भयो, जुन निकै अप्रिय र कष्टकर बन्यो। कालान्तरमा यही दिन गीता जयन्तीको रूपमा स्थापित भयो। मार्ग कृष्ण चतुर्दशीसम्म चलेको यो महाप्रलयका सबै पीडा कलियुग सकिने बेलासम्म पनि बयान गरेर सकिने छैन।

मार्ग कृष्ण षष्ठीसम्म आफैले शिक्षित र दीक्षित गरेका पाण्डवहरूसँग भीष्म पितामह आफैँ सेनापतिको हैसियतमा लड्नुभयो। सखे, पितामह मलाई द्रुपद जस्तै लाग्नुहुन्थ्यो। पितामहले स्वेच्छा मृत्यु रोजेपछि युद्ध सुरु भएको दोस्रो एकादशीसम्म गुरु द्रोणाचार्य र द्वादशी र त्रयोदशीमा अङ्ग देशका राजा कर्णले कौरव सेनाको नेतृत्व गरेर युद्ध लडे। चतुर्दशीका दिन शल्यको नेतृत्वमा युद्ध हुँदै गर्दा युवराजले वीरगति प्राप्त गरेपछि ठूलो युद्धको औपचारिक अन्त्य भएको थियो। शकुनी मामा आफ्नो गुप्त योजनामा सफल भएका थिए।

चन्द्रमा–ययाति –पुरु –भरत –कुरु –प्रतीप –शान्तनु– विचित्रवीर्य हुँदै धृतराष्ट्र र पाण्डवसम्म आइपुग्दा राज्यकै लागि लडाइँ हुनु सुखद कुरा थिएन। पुरुष पात्रका युद्ध कौशल, वीरता र शौर्यताका छल र बलद्वारा गरिएका वधका कथामात्रै लेखिए। महाभारत युद्धको ३६ वर्षपछि गान्धारीको श्रापले यो प्रलय आउनेछ भनेर कसैले सोचेनन्। ढिलो भए पनि प्रलयको प्रतिउत्तर प्रलय नै हुने रहेछ।युद्धपछि प्राप्त साम्राज्यमा मेरो मन कहिल्यै बसेन। लगभग आफ्ना सबै मरिसकेका थिए। छेउछाउका राज्यहरू पनि डरको कूटनीतिक सम्बन्धमै थिए। राज्यभित्र अपाङ्ग, विधवा र टुहुरा-टुहुरी जताततै रोएका, नरमाइलो मानेर बाँचेका जस्ता देखिन्थे। राज्यले अन्य सुविधा दिए पनि आफ्ना गुमाएका पीडाको भरपाई अरू चिजले हुँदैनथ्यो।

युधिष्ठिरसँग म बाहेक श्रीमती देविका (शिशुपालकी बहिनी) थिइन्। भीमसँग हिडिम्बा र बलन्धरा (काशीराज कौशलकी छोरी), अर्जुनसँग तिम्रै बहिनी सुभद्रा, मणिपूरकी राजकुमारी चित्राङ्गदा र उलूपी थिइन्। नकुलसँग चेदीकी राजकुमारी करेणुमति र सहदेवसँग मद्रकी राजकुमारी विजया गरी अर्की श्रीमती थिइन्। तर म पाँच-पाँच पति भएर पनि सधैँजसो एक्ली थिएँ।

आज धेरैपछि सबै साजसभाका पाटागँनीमा उभिएका छन्, आँखाभरि आँसु लिएर। युद्ध विजय घोषणाको दिनपछि आज नै हो फेरि सबै यसरी उभिएको। दुवै घटनाका साझा कुरा सबैको आँखामा आँसु छन्। सखे, खासमा मानिसहरूको जीवनको एउटै साथी आँसु नै रहेछ। तिमीले कर्म नै साथी हो भनेको कुरा झूटो रहेछ।

प्रिय सखे,
अरू त सबै भुलौँला, समयले घाउमा खाटा बसाल्दै लैजाला, तर हस्तिनापुरको राजसभामा मेरो अस्तित्वसँग खेलबाड गरिएको त्यो चीरहरणको घटना म भुल्नै सक्दिनँ। ऋतुकालको तेस्रो दिनको स्नान सकेर दरबारको बारतालीमा केश सुकाएर एकसरो कपडामा बसिरहेकी थिएँ। तल सभाहलबाट हाँसोका फोहोरा मसम्मै आइपुगेका थिए। धेरैपछि दरबारमा हाँसो सुनिएको थियो। एक्कासी दुःशासन आएर मलाई ‘तँ’ भनेर हिँड भन्यो। दरबारभित्र मर्यादित भाषाको प्रयोग गर्न सम्झाउँदै-सम्झाउँदै उसले ‘तँलाई हाम्रा युवराजले जुवामा जित्नुभयो, उप्रान्त तँ दासी होस्’ भन्दै घिसार्न थाल्यो। उसको बलको सामु मेरो केही चलेन। सभा पुगेपछि थाहा पाएँ—पाण्डवहरूले जुवामा सबै हारिसकेका रहेछन्। आफूलाई थापेर हारेपछि युधिष्ठिरले जुवामा मलाई थापेका रहेछन्। रजस्वलाको रज सुक्न नपाउँदै अपमान र लज्जापूर्वक मलाई राजसभामा उपस्थित गराउँदा संसारविजयी पाण्डवहरूले किन प्रतिकार गर्न सकेनन् ? मलाई यहाँ पनि लाग्यो—म सबैकी भएकीले कसैकी भइनँ। त्यही सभामा मलाई कर्णले ‘केशशुल्का (वेश्या)’ भने। त्यत्रा मान्यजनहरूको अगाडि भएको त्यो अपमानले म सधैँ जलिरहन्छु। सती र वेश्या शब्दको पुलिङ्गी शब्द के हुन्छ ? मलाई कसैले भनिदिएनन्। म आज पनि त्यसको उत्तर खोजिरहेकी छु। यदि म वेश्या हुँ भने वेश्याको लोग्नेलाई के भनिन्छ ? यसको उत्तर कसँग छ ? आफू जुवामा हारेकाहरूले कसरी मलाई जुवामा थापे ? ‘अहं ब्रह्मास्मि’ भन्न लगाउने समाजले के हामी नारीहरूलाई तबेला-गोठमा पालेका जनावर वा राजदरबारका खजाना गृहका आभूषण-गहना जस्तै ठान्छ ?

लज्जाजनक र कायरतापूर्ण चीरहरणको साँझ गान्धारीलाई डोराउँदै भानुमति मसँग आइन्। आफूले संसार नहेर्ने भनी गरेको प्रतिज्ञा यति नराम्रो ठाउँमा ठीक हुनेछ भनेर कहिल्यै नसोचेको बताउँदै आमा गान्धारी रुनुभयो। आमा गान्धारीको आफ्नै कथा रहेछ। माङ्गलिक दोष भनेर माताका पिता सुबालाले राजगुरुको सल्लाहमा माताको विवाह बोका सँग गराएर उक्त बोकाको बलि गरी माता गान्धारीलाई विधवा घोषणा गरिएको रहेछ। उक्त कुरा बिहेपछि थाहा पाएपछि धृतराष्ट्रले झूट बोलेको भनी आफ्ना ससुरा र १०० सालाहरुलाई कैद गरी दिनको एक मुट्ठी अन्न मात्र दिई निर्दयतापूर्वक मारेका रहेछन्। सबै कुरा देखेका शकुनीले त्यही घटनाको बदला लिन आफ्ना सनकी भान्जा दुर्योधनको प्रयोग गर्ने निश्चय गरेका रहेछन्। सुबालाको मेरुदण्डबाट बनेको जादुई पासा शकुनीको आदेशमा इच्छित परिणाम मिल्ने गरी प्रयोग हुँदो रहेछ। भाइ र छोराहरूबीचको प्रतिशोध, प्रारब्ध, विधि तथा नियतिको विधान भएको र प्रलय धेरै टाढा नरहेको बताउँदै दुःशासनलगायत सबैको वध केही दिनभित्रै हुनेछ भन्दै मेरो केश समालेर बाँधिदिनुभयो। मैले मेरो प्रतिज्ञा भुलेकी थिइनँ। भानुमति मेरो पाउको रज पुछ्दै पिन्चे स्वरमा भनी—’दिदी, यदि कौरवहरूले जुवा हारेको भए म तपाईँकी अर्की सौता बन्नेथिएँ। के हामी कसैकी केही नबनी आफ्नो मात्र बनी रहने विधान छैन दिदी ?’ उसका आँखाका आँसु पुछ्दै मैले सबैलाई माफी दिएको घोषणा गरेकी थिएँ।

अर्को कुरा, तीन-चार हप्ताअघि राधा आएकी थिइन्। निधारमा थोरै चाउरी भए पनि उस्तै उज्याली, उस्तै चञ्चल, उस्तै फुर्तिली तर कताकता शोकमा परेझैँ थाकेकी देखिएकी। नफर्कुन्जेलको लागि भनेर तिमीले सम्झनास्वरूप दिएर गएको बाँसुरी लिएरै आएकी। भन्थिन्—’वृन्दावन अचेल निराश लाग्न थालेको छ दिदी। खै के अनिष्टको संकेत हो कुन्नि। अचेल गाईहरू बाँझा बनेका छन्। गोपालहरू नयाँ बाछा-बाछी स्याहार्न नपाएर दूधको अभाव खेपेका छन्। चन्दनका वृक्षहरू मर्दै गएका छन्। वृन्दावनको ठीक बीचमा रहेको मोहिनी दहको पानी आधा सुकिसकेको छ। छेउमा फुलेका कमलका फूलहरूमा गाढा सौन्दर्य छैन, पाकेका फलहरूमा पनि उस्तो मिठो स्वाद छैन रे।’ आँसु पुछ्दै भनेकी थिइन्—’रुखो स्वर भएका चराहरूको बाहुल्यता बढ्दै गएको छ रे। दिदी, त्यस्तो प्रिय लाग्ने त्यो रनबन किन यस्तो उराठ लाग्न थालेको हो मलाई ? भनौँ कसलाई भनौँ, कोसँग भनौँ—साह्रै मन आत्तिएर तपाईँसँगै बसेर रुन आएकी हुँ। उहाँले नै सुन्दर पारेको वृन्दावनमा उहाँकै सम्झनामा आँसु पार्न मनै लाग्दैन दिदी।’

अझ भावुक हुँदै भनिन्—’दिदी, हिजो राति सपनामा म र कृष्ण मोहिनी दहमा खुट्टा डुबाएर राजहंसका जोडीको जलक्रीडा हेरेर बसेका रहेछौँ। कृष्णले सधैँजस्तै लय हालेर बाँसुरी बजाए। मसँग जिस्किँदै दहको छेउबाट कमल टिपेर ल्याएर मेरो चुल्ठोमा सिउरिदिए र मलाई ‘कस्ती सुहाएको छौ, पानीमा हेर’ भने। अनि आफू सधैँजस्तै चन्दनको रुख पछाडि लुक्न गए। मैले दहमा हेरेकी मात्र के थिएँ—कताबाट हो, हुलका-हुल भैँसी आएर दहमा आहाल बसे। म आत्तिएर वरिपरि हेरेकी, कृष्ण कतै पनि देखिएनन्। साह्रै मन आत्तिएको छ दिदी, पक्कै कृष्ण अप्ठ्यारोमा छन्।’

सौप्तिक पर्वको बदलामा अर्जुनले अश्वत्थामाको मस्तकबाट झिकेर मलाई दिएको मणि भएनै बाँसुरी राखेर भनिन्—’यदि कृष्ण भेटिए भने यो उहाँलाई दिनु।’

गेरु पीतिलक लगाइदिएर उनका आँसु पुछ्दै भनेँ—’प्रिय भगिनी, सबैले आफ्नो-आफ्नो भागको भोग भोग्नै पर्छ। समय आएपछि सबै कुरा ठीक हुन्छ। नआत्तिई आज यतै बस।’ बस्न उनी मानिनन्। फर्कने बेला रथ चढ्दा देखेँ—उनले आफ्नो चुल्ठोमा निरकमलको फूल सजाइराखेकी थिइन्। त्यो कमल कहिल्यै नसुक्ने जस्तो लाग्यो।

सखे,
युद्ध सकिएको रात दुर्योधनको मृत्युपछि अब बदलाको युद्ध सकियो भन्ने लागेको थियो। तर युद्धनीति विरुद्ध अश्वत्थामा, कृपाचार्य र कृतवर्मा पाण्डव शिविर छिरेर मेरा पाँच पुत्र (युधिष्ठिरबाट—प्रतिबिन्ध्य, भीमसेनबाट—सुतसोम, अर्जुनबाट—श्रुतकर्मा, नकुलबाट—शतानीक र सहदेवबाट—श्रुतसेन) सहित दाजु धृष्टद्युम्नलाई कायरतापूर्वक निर्मम हत्या गरे। यो सौप्तिक पर्वपछि म एकै पटक सन्तान र माइतीविहीन हुन पुगेँ। एउटी नारीलाई परिवारको अपमान र हिंसाभन्दा धेरै गुणा पीडादायी रित्तो कोख र खाली माइती हुँदो रहेछ। म धेरै घटनामा अब बाँच्नको सार छैन भन्ने लागेर पनि बाँचेँ, बाँच्दिनँ होला भनेर पनि बाँचेँ, कमजोर भएर बाँचेँ, जब्बर भएर बाँचेँ। खासमा हजार पटक मरेर बाँचेँ। युद्ध आखिर युद्ध नै हुँदो रहेछ। शस्त्रविहीन बनेका कर्णमाथिको आक्रमण, मरेको हात्ती अश्वत्थामाको झूटो प्रयोग, सूर्यलाई बादलले ढाकेर कृत्रिम रात बनाई गरिएको जयद्रथ वध, शिखण्डीको प्रयोगद्वारा गरिएको भीष्म वध र तिघ्रामा हानी दुर्योधन वध गर्न दिएको आदेश—यी सबै युद्धनीति विपरीत नै थिए।

अब म आफैँमा फर्किन्छु। यो युद्धले दिलाएको शोक पूरा नारी जातिले अब कुनै जुनीमा, कुनै पनि कालखण्डमा भोग्न नपरोस्। असीमित ऊर्जा र अनन्त जीवनका प्रतीक शिवको इकार रहेका नारी शक्ति—जुन शिवबाट हटाइदिने हो भने शव मात्र बाँकी रहन्छ। अब उप्रान्त सम्पत्ति, रूप, शक्ति र विद्यामा यो शक्ति लक्ष्मी, अप्सरा, जगदम्बा र सरस्वती स्वरूप भई दिगन्त रहोस्।

प्रिय सखे,
मैले यो लेखिरहँदा भर्खरै अर्को सन्देश आइपुगेको छ। भोलि नै पाण्डवहरू पार्वती श्राद्ध गर्दैछन् र आत्मश्राद्धको मुहूर्त हेरिँदै छ। सखे, हामी बाँचेको मर्त्यलोकको विधान मान्नै पर्ने छ। ज्ञानी-पराक्रमीको सङ्गतले म पनि विस्तारै ढुङ्गा बनेकी छु। चोट र तिरस्कारले खारिएर विदीर्ण बनेकी छु। बीचका घटना जे जस्ता भए पनि मर्त्यलोक आउने र जाने बाटो एउटै त हो—जन्म र मृत्यु। यिनै महान घटनाबाटै फेरि कतै जोडिउँला। त्यो बेला तिम्रा सबै गुन तिर्न म कृष्ण बन्न पाऊँ, तिमी कृष्णा बन। अरू जे जस्तो भए पनि मिल्नेछ भने प्रिय सखे—यो पृथ्वीमा फेरि अर्की द्रौपदी नजन्मियोस्, जन्मिन नपरोस्।

भगवान् श्रीकृष्ण अमर रहून्
भगवान् श्रीकृष्णको जय होस्।

प्रकाशित: २०८२ पुस ६ गते आईतबार ११:३६
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना