२९ टी-२० खेल, ३७.४८ को औसतले १०१२ रन र १८९.५१ को विष्फोटक स्ट्राइक रेट।
यी तथ्यांकहरू ती विस्फोटक ब्याटरका हुन्, जो सन् २०२५ मा पाकिस्तानमा गुगलमा सबैभन्दा बढी सर्च गरिएका खेलाडी बने।
आफ्नो तुफानी ब्याटिङका कारण मात्र डेढ वर्षभित्रै अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाउन सफल अभिषेक शर्मा ती खेलाडी हुन्, जसलाई लिएर भारतमा मात्र होइन, पाकिस्तानी क्रिकेट प्रशंसकहरूमा पनि निकै कौतुहलता छ। अचम्मको कुरा त के छ भने, बाबर आजम, शाहिन शाह अफ्रिदी र ह्यारिस रउफ जस्ता नाम चलेका पाकिस्तानी क्रिकेटरहरू शीर्ष १० को सूचीमा पनि अटाउन सकेनन्।
पाकिस्तानमा सबैभन्दा बढी सर्च गरिएका खेलाडीहरूमा अभिषेक शर्मापछि दोस्रो नम्बरमा क्रिकेटर हसन नवाज छन्। त्यसपछि क्रमशः इरफान खान नियाजी, साहिबजादा फरहान र मोहम्मद अब्बासको नाम आउँछ। अभिषेक शर्माले सन् २०२५ मा धेरै विष्फोटक पारीहरू खेले। सोही वर्ष अस्ट्रेलियाविरुद्धको ५ टी-२० खेलको शृङ्खलामा उनले ४०.७५ को औसतले १६३ रन बनाएका थिए, जहाँ उनको स्ट्राइक रेट करिब १६१ थियो। भारतले उक्त शृङ्खला २-१ ले जितेको थियो।
यसै वर्षको एसिया कपमा पाकिस्तानविरुद्ध मात्र ३९ बलमा ७४ रनको तूफानी पारी खेल्दै उनले भारतलाई जित दिलाएका थिए। त्यसपछि नै उनको चर्चा टी-२० को उदाउँदो नक्षत्रका रूपमा हुन थालेको हो।
उक्त खेलमा भारत ब्याटिङ गर्न उत्रँदा पाकिस्तानी बलर ह्यारिस रउफ र भारतीय ओपनिङ जोडीबीच निकै चर्को भनाभन भएको थियो। रउफ र अभिषेक शर्माबीचको तीखो वादविवाद यति बढ्यो कि अम्पायरले नै बीचमा आएर साम्य पार्नुपरेको थियो।
ओपनरका रूपमा मैदान छिरेका अभिषेकले भारतीय पारीको सुरुवात नै छक्का प्रहार गरेर गरेका थिए। उनले ३९ बलमा ७४ रन बनाउने क्रममा ६ चौका र ५ छक्का प्रहार गरे। खेलपछि अभिषेक शर्माले भनेका थिए, ‘जसरी उनीहरू (पाकिस्तानी खेलाडी) बिना कारण हामीतिर आक्रामक रूपमा प्रस्तुत भइरहेका थिए, त्यो मलाई कत्ति पनि मन परेन। त्यसैले नै मैले त्यस्तो जवाफ दिने गरी ब्याटिङ गरें।’
एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेपछि अभिषेकका पिता राजकुमार शर्मासँग बीबीसी संवाददाता भरत शर्माले कुराकानी गरेका थिए।
त्यसबेला राजकुमार शर्माले भनेका थिए, ‘मैले फर्स्ट क्लास क्रिकेट खेलें। म आफ्नी आमालाई भन्थेँ— मेरा सबै साथीहरूले भारतका लागि खेले तर म खेल्न सकिनँ, थाहा छैन किन! सायद भगवानको इच्छा यस्तै थियो। मेरी आमाले जवाफमा भन्नुहुन्थ्यो— बाबु केही छैन, तँ नखेले पनि तेरो छोराले पक्कै इन्डियाका लागि खेल्नेछ।’
ती दिनहरू सम्झँदा राजकुमार भावुक बन्छन्।
उनी थप्छन्, ‘यो मेरा लागि गर्वको क्षण हो। हरेक आमाबुबाको इच्छा हुन्छ कि सन्तान आफ्नै खुट्टामा उभियून् र जुन क्षेत्रमा लागे पनि राम्रो गरुन्। हाम्रो छोराले धेरै वर्षअघि ब्याट समातेको थियो, धेरै संघर्ष र मिहिनेत गर्यो। आज ऊ भारतका लागि खेल्ने मात्र होइन, खेल नै जिताइरहेको छ। यो देख्दा मन खुसीले गदगद हुन्छ।’
क्रिकेटका जानकारहरू अभिषेकमा विरेन्द्र सहवागको जस्तो आक्रामकता र युवराज सिंहको जस्तो सुन्दर शैली (Elegant Style) देख्छन्।
अभिषेक आफैं पनि युवराज सिंहबाट निकै प्रभावित छन्। उनीहरूको भेट रणजी ट्रफीका क्रममा भएको थियो। पन्जाब क्रिकेट एसोसिएसनले अभिषेक र शुभमन गिललाई रणजीमा मौका दिन चाहेको थियो। त्यो समयमा युवराज सिंह क्यान्सर जस्तो गम्भीर बिरामीलाई जितेर पुनः भारतीय टोलीमा फर्कने प्रयासमा थिए र बीसीसीआईको निर्देशनमा रणजी खेल्न आएका थिए।
युवराजलाई अन्डर-१९ का दुई केटाहरू आउँदैछन् भन्ने जानकारी दिइयो। उनलाई भनियो— एक जना ओपनिङ ब्याटर छन् र अर्का देब्रे हाते स्पिनर।
राजकुमार शर्मा सम्झन्छन्, ‘युवराजले भनेका थिए— मलाई ब्याटर चाहिएको छ किनकि बलर मसँग छन्। तर छनोटकर्ताहरूले दुवैलाई मौका दिनुपर्छ भने। एक खेलमा तीन-चार जना खेलाडी छिट्टै आउट भए। युवराज ब्याटिङ गरिरहेका थिए, उनले अभिषेकलाई प्याड लगाएर मैदान पठाउन भने। त्यसपछि अभिषेक आए र उनको ब्याटिङ देखेर युवराज हेरेको हेर्यै भए। युवराज ४० रनमा खेलिरहेका थिए, अभिषेकले आएर विष्फोटक १०० रन बनाइदिए।’
अभिषेकले युवराजलाई आफ्नो आदर्श र भगवान मान्ने बताएपछि युवराजले मैदानमै अभिषेकलाई आफूसँगै तालिम लिने कि भनेर सोधेका थिए। त्यसबेलादेखि अहिलेसम्म युवराजले नै उनलाई प्रशिक्षण दिइरहेका छन्।
यी दुईका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल छन्। एउटा भिडियोमा युवराज सिंहले ठट्टा गर्दै अभिषेकलाई भनिरहेका छन्, ‘तँ नसुध्रिने भइस्, बस छक्का मात्रै हान्छस्, कहिलेकाहीँ भुइँको सट पनि खेल्ने गर्।’
अभिषेकका बुबा भन्छन्, ‘युवराजले नै उसलाई तालिम दिइरहेका छन्। उनले मेरो छोराको पूरा ख्याल राख्छन्। उसलाई मानसिक र शारीरिक रूपमा बलियो बनाइदिएका छन्। उनले आफ्नो पूरै टिमलाई अभिषेकको पछाडि लगाइदिएका छन् ताकि ऊ एक दिन पनि खाली नबसोस्। यदि विश्वस्तरीय अलराउन्डरले कसैलाई तालिम दिन्छ भने त्यो खेलाडी कहाँसम्म पुग्न सक्छ, आफैं सोच्नुहोस्। यो त भर्खर सुरुवात मात्र हो!’


