पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँबराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो।
जबकी गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड रुपैयाँबराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालू आर्थिक वर्षको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए।
यो वर्षको पाँच महिनामा २० अर्ब ७६ करोड रुपैयाँ पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ। त्यस्तै तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भएको छ।
दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, एक अर्ब ९७ करोड रुपैयाँबराबरको प्रशोधित पाम तेल निर्यात भएको छ। त्यस्तै एक अर्ब ५० करोड रुपैयाँ पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ।


