मस्को,सिन्ह्वा। युक्रेनसँग युद्ध गरिरहेको रुसको यो वर्ष अन्न उत्पादन बढ्ने भएको छ। रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०.६ प्रतिशत बढी हो।
तथ्याङ्कअनुसार जौ उत्पादन १८.३ प्रतिशत बढेर एक करोड ९७ लाख टन पुगेको छ। ओखतीको उत्पादन करिब एक चौथाइले वृद्धि भई ३८ लाख टन पुगेको छ भने कोदो उत्पादन ८.७ प्रतिशतले बढेर ३५ लाख टन पुगेको छ।
दालजन्य बालीहरूको उत्पादन ऐतिहासिक रूपमा उच्च ८० लाख टन पुगेको छ। जसमा ५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ।
यस वर्ष अन्न तथा दालजन्य बालीहरूको कुल अनुमानित उत्पादन १३ करोड ९४ लाख टन रहेको छ। जबकि सन् २०२४ मा यो परिमाण १२ करोड ५९ लाख टन थियो।
यसैगरी, आलुको उत्पादन एक करोड ९५ लाख टन पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९.४ प्रतिशत बढी हो। फलफूल तथा बेरी वर्गका बालीहरूको उत्पादन ४३ लाख टन पुगेको छ। सन् २०२४ को तुलनामा ८.१ प्रतिशत वृद्धि भएको तथ्याङ्क सेवाले जनाएको छ।


