ड्यालस (टेक्सस): नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतको ड्यालस–फोर्टवर्थ (डिएफडब्लू) च्याप्टरको नेतृत्व युवा पुस्ताका उज्जल खत्रीले सम्हाल्ने भएका छन्। शनिबार सम्पन्न चौथो अधिवेशनबाट खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो।
खत्री किशोर उमेरदेखि नै लोकतन्त्र र प्रजातन्त्रको आन्दोलनमा सहभागी हुँदै आएका युवा अभियन्ता हुन्।
सन् २०१४ मा तेस्रो अधिवेशनपछि लामो समयसम्म अधिवेशन र सम्मेलन हुन नसकेको डिएफडब्लू च्याप्टरले ११ वर्षपछि आयोजना गरेको चौथो अधिवेशनलाई प्रवासमा नेपाली कांग्रेससम्बद्ध कार्यकर्ता तथा शुभचिन्तकहरूले नयाँ सुरुवातको रूपमा लिएका छन्। लामो समयको निष्क्रियतापछि पुनः संगठन चलायमान हुने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।
ड्यालस क्षेत्रमा युवा पुस्तामाझ परिचित र सक्रिय खत्रीले नेतृत्व सम्हालेसँगै जनसम्पर्क समिति प्रवासमा अझ संगठित, ऊर्जाशील र प्रभावकारी हुने विश्वास अधिवेशनका सहभागीहरूले गरेका छन्। लोकतन्त्रको मूल्य र मान्यताका पक्षमा किशोर अवस्थादेखि निरन्तर सक्रिय रहँदै आएका खत्रीलाई पुस्तान्तरणको प्रतीकका रूपमा समेत हेरिएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मधुर खरेल, सचिवमा आकाश अधिकारी र कोषाध्यक्षमा राजु कोइराला चयन भएका छन्। सदस्यहरूमा विष्णुकुमार गिरी, रमेश न्यौपाने, दीपक थपलिया, कृष्ण प्रसाई, कविराज कार्की, सगुन अधिकारी, विष्णुप्रसाद ढकाल, होमप्रसाद थपलिया र विनय खतिवडा निर्विरोध चयन भएका छन्।
अधिवेशन उद्घाटन कार्यक्रममा वक्ताहरूले जनसम्पर्क समितिलाई केवल राजनीतिक भातृसंस्थाका रूपमा सीमित गरेर बुझ्नु गलत हुने बताएका छन्। प्रवासमा रहेका नेपालीलाई सामाजिक, सांस्कृतिक र सामुदायिक रूपमा एकताबद्ध गर्न संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।
अमेरिकाभर ३० च्याप्टरको अधिवेशन एकैदिन
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुसार डिसेम्बर ३० भित्र अधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार अमेरिकाका विभिन्न राज्यमा रहेका जनसम्पर्क समितिका ३० वटै च्याप्टरको अधिवेशन शनिबार एकैसाथ सम्पन्न भएको छ। जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन भने डिसेम्बर २७ मा गर्ने निर्णय गरिएको छ।
यसै क्रममा जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरको अध्यक्षमा हरिप्रसाद ढकाल चयन भएका छन्। उपाध्यक्षमा ज्ञानेन्द्र घलान तामाङ, सचिवमा हरि खनाल र कोषाध्यक्षमा शिला घिमिरे निर्वाचित भएका छन् भने केन्द्रीय प्रतिनिधिमा हरि ढकाल, प्रविण घिमिरे, रामराज पोखरेल, प्रेम पाठकसहित १२ जना चयन भएका छन्।







