काठमाडौँ: करिब आधा नेपालीहरूको पहुँचमा बीमा पुगेको छ। पछिल्लो समय बीमा क्षेत्रका परिसूचक सकारात्मक बन्दै गएकोमा ४९.५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ।
गएको कात्तिकसम्ममा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित करिब आधा नेपालीहरू बीमाको दायरामा आएका हुन्। गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा यस्तो जनसंख्या ४२.९ प्रतिशत रहेको थियो।
चालू आर्थिक वर्षको कात्तिकसम्म सक्रिय जीवन बीमालेख संख्या १६.४ प्रतिशत वृद्धि भई एक करोड ६० लाख ६३ हजार ४७८ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
यस अवधिमा निर्जीवन बीमालेख संख्यासमेत ५.८ प्रतिशत वृद्धि भएको छ। कुल बीमालेख संख्यामध्ये जीवन बीमाको हिस्सा ९४ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को कात्तिकसम्म बीमा प्रिमियम संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५ प्रतिशत बढेको छ।
गत कात्तिकसम्म बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ७९ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संकलन ६८ अर्ब ६ करोड रुपैयाँ थियो।
यस अवधिको बीमा प्रिमियम संकलनमध्ये जीवन बीमा र निर्जिवन बीमातर्फ संकलन भएको प्रिमियमको हिस्सा क्रमशः ७९.७ प्रतिशत र २०.३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको कात्तिकसम्म यस्तो हिस्सा क्रमशः ७८.९ प्रतिशत र २१.१ प्रतिशत रहेको थियो।
हाल जीवन बीमा कम्पनीको संख्या १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी दुई र लघुबीमा कम्पनी सात गरी कूल ३७ बीमा कम्पनीहरुले मुलुकमा बीमा सेवा दिइरहेका छन्।


