काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्ममा उक्त संख्यामा मनोनयन दर्ता भएको हो। मनोनयन दर्ता गर्नेमा तीन हजार ८९ जना पुरुष, ३९६ जना महिला र एक जना लैंगिक तथा यौनिक अल्पसङ्ख्यकले मनोनयन दर्ता गरेका छन्। संसद् छिर्न खोजेकामध्ये दुई जना उम्मेदवार खेल पृष्ठभूमिबाट आएका छन्। एक जना भने समानुपातिकबाट उम्मेदवार रहेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष चतुरबहादुर चन्द बैतडीबाट चुनाव लड्दैछन्। कांग्रेस जिल्ला सभापति रहेका उनी पूर्वशिक्षक समेत हुन्। शिक्षकबाट अवकाशपछि उनी सक्रिय राजनीतिमा आएका थिए। यसैक्रममा २०७६ मा क्यानको अध्यक्ष निर्वाचित भएका थिए।
उनीविरुद्ध नेकपा एमालेबाट पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका दामोदर भण्डारी चुनावी मैदानमा छन्।
यस्तै पूर्व क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिना पनि यसपटक चुनावमा लड्दैछन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ गएर आफूले यसअघि जित्दै आएको काठमाडौँ ४ मा तिमिल्सिनालाई उम्मेदवार बनाएका छन्। उनले कमेन्ट्री बक्सबाट म्याच फिक्सिङको विषय खुलासा गरेका थिए। उनकाविरुद्ध काठमाडौँ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बम, नेकपा एमालेका डा. राजन भट्टराईसहित २८ जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै क्रिकेट पृष्ठभूमिका ज्ञानेन्द्र मल्ल प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको सूचीमा छन्। उनी क्रिकेटर एवं नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान हुन्।
