काठमाडौँः चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिना (साउन–पुस) अवधिमा नेपालको वैदेशिक व्यापारको आकार ११ खर्ब रुपैयाँ नजिक पुगेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा वैदेशिक व्यापार १७.३६ प्रतिशतले वृद्धि भई १० खर्ब ८१ अर्ब रुपैयाँ बराबर पुगेको छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत र निर्यातको हिस्सा १३.१३ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ९ खर्ब २१ अर्ब रुपैयाँ बराबर मात्र रहेको थियो।
समीक्षा अवधिमा आयात १४.१८ प्रतिशतले वृद्धि भएको छ भने निर्यातमा उल्लेख्य ४३.७६ प्रतिशतको वृद्धि भएको देखिन्छ। भन्सार विभागका अनुसार पुस मसान्तसम्म ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आयात ८ खर्ब २२ अर्ब रुपैयाँमा सीमित थियो।
त्यस्तै, चालू आर्थिक वर्षको पहिलो छ महिनामा १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो। निर्यातमा आएको उल्लेखनीय वृद्धिका कारण कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२.५० प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
यद्यपि, निर्यातमा सुधार देखिए पनि व्यापार घाटा अझै उच्च रहेको छ। पुस मसान्तसम्म कुल व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।
तथ्यांकअनुसार आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी देखिएको छ। पुस मसान्तसम्म पेट्रोलियम पदार्थ आयातमा मात्र १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको भन्सार विभागले जनाएको छ।


