काठमाडौँ- वि. सं. २०७६ को माघ २२ गते त्रिवि क्रिकेट मैदानबाट सुरु भएको आईसीसी विश्वकप लिग-२ को एक चक्र गत बिहीबार सोही मैदानमा सकियो।
तीन वर्ष लामो यात्रामा एसोसिएट देशहरूबीच उत्कृष्ट बन्ने लक्ष्यका साथ अघि बढेको नेपाली टिम तेस्रो भयो।
ओमनसँग पराजय व्यहोरेपछि सुरू भएको एकदिवसीय क्रिकेटमा युएईविरुद्धको जितसम्म पुग्दा नेपाली टिममा तीन जना त कप्तान नै परिवर्तन भए।
यो अवधिमा कप्तान पारस खड्काको लिगेसीबाट प्रशिक्षक मोन्टी देसाईको जादुसम्म पुग्दा अस्थिर बनिरहेको राष्ट्रिय क्रिकेट टिमलाई चार प्रशिक्षकले सम्हाले।
आइसीसीको निलम्बनबाट क्यान ब्युँतिएपछि पारस खड्काले कप्तानी छोडेका थिए। त्यसपछि नेपाली टिमको कप्तानी खड्काको काँधबाट ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने हुँदै रोहितकुमार पौडेलको काँधसम्म आइपुगेको छ। त्यति मात्र होइन, प्रशिक्षकको ट्रान्जिट बनेको टिम तेस्रो स्थानसम्म कसरी पुग्यो भन्ने कथा आफैँमा रोचक छ।
टिममा जति परिवर्तन भएपनि त्रिवि क्रिकेट मैदानमा भएका खेलमा एक स्थाई पात्र रहे, ‘क्युरेटर’ मधु थोकर। उनले हरेक खेलमा यो मैदान स्याहारेका छन्। लिग-२ को खेल सुरू हुनुपूर्व उनले भनेका थिए, ‘आफूले बनाएको मैदानमा यस्तो गर्व गर्नलायक प्रतिस्पर्धा हुँदैछ। मलाई खुसी लागेको छ। म नेपालले जितोस् भन्ने चाहान्छु।’

‘क्युरेटर’ मधु थोकर।
त्यतिबेला नेपाली क्रिकेट व्यवस्थापक, खेलाडी र समर्थकमा नयाँ जोश थियो। त्यो जोशको कारण नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेल पहिलो पटक घरेलु मैदानमा खेल्दै थियो। जुन दिन नेपालको लिग-२ को यात्रा सुरु भयो, त्यही दिन त्रिवि क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलाउने नयाँ मैदानको नाम पाएको थियो।
घरेलु मैदानमा घरेलु समर्थकमाझ श्रीगणेश भएको लिग-२ को त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकालाई दुवै खेलमा हरायो। तर, ओमनसँगका दुवै खेलमा पराजय पनि व्यहोर्यो।
पारसको दशक लामो कप्तानीपछि उपकप्तान ज्ञानेन्द्र कप्तान बन्दै थिए। कप्तानी छाडेपनि पारस टिममै थिए। अर्का भेट्रान शरद भेषवाकरले चोटका कारण शृंखला गुमाएका थिए। भेषवाकरले चोट बोकेपछि सुवास खकुरेललाई टिममा फर्काइएको थियो। खकुरेलले खेलेको त्यो नै अन्तिम अन्तर्राष्ट्रिय प्रतियागिता रह्यो। आजभोलि उनी क्रिकेट मैदानतिर देखिँदैनन्।
000
लामो समयसम्म नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेका कारण उतिबेला धेरै युवा खेलाडी देखिएका थिएनन्। यद्यपि फ्रेन्चाइज क्रिकेटबाट उदाएका युवा हिटर थिए, कुशल मल्ल। उनले अमेरिकाविरुद्धको डेब्यूमा अर्धशतक प्रहार गरेर कीर्तिमान (अर्धशतक बनाउने युवा खेलाडी) बनाएका थिए। त्यो प्रतियोगितामा सबैभन्दा रोचक चाहिँ अमेरिकाविरुद्धको जित छ। हो, अमेरिकाविरुद्ध नेपालले ८ विकेटको जित निकालेको अन्तिम खेल एक घण्टा ३९ मिनेटमै सकिएको थियो। कति दर्शक खेल हेर्न मैदान जाँदै थिए। तर, उनीहरु बाटोमै रहँदा खेल सकिएको थियो।
उक्त खेल एकदिवसीय क्रिकेटमा नेपालले सबैभन्दा कम लक्ष्य पाएको खेल हो। जुन खेलमा अमेरिकाले नेपालसामु केवल ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सन्दीप लामिछानेले कीर्तिमानी ६ विकेट लिएपछि नेपालले अमेरिकालाई सस्तैमा समेट्यो। त्यो खेल नै प्रशिक्षक उमेश पटवालको लागि बिदाई खेल बन्यो। तलबलगायतका विषयमा सहमति जुट्न नसक्दा उनले सम्झौता गरेको अवधि अगावै नेपाली टिम छाडेको चर्चा नेपाली क्रिकेट वृत्तमा चुलिएको थियो।
यसरी सुरु भएको लिग-२ को शृंखला लगातार हुन सकेन। कोभिडको महामारी सुरू भएपछि क्रिकेट बन्द भयो। नेपाल मात्र होइन्, अरु देशले पनि खेल्न पाएनन्। नेपालले त्यो बेला नामिबिया र स्कटल्यान्डसँगको सिरिज तथा पपुवा न्युगिनी र युएईसँगको सिरिज खेल्नुपर्ने थियो।
कोभिडका कारण खेलहरू पटक–पटक सरे, महामारीले विश्व नै थलिएको बेला आईसीसीको क्यालेन्डर पनि भताभुंग बनेको थियो। एकपटक त के सम्म भयो भने सिरिज खेल्नको लागि बन्द प्रशिक्षणमा बोलाएका खलाडीहरू पनि प्रतियोगिता रद्द हुने भएर घर फर्किए। यसैबीच पूर्वकप्तान पारसले क्रिकेटबाट सन्यास लिए।

डेढ वर्षको विषम परिस्थिति व्यहोरेपछि नेपालले अर्को शृंखला खेल्यो। त्यो शृंखला पनि अमेरिका, नेपाल र ओमनबीचकै थियो। प्रतियोगिता ओमनको अल अमरेत मैदानमा हुँदा प्रशिक्षक फेरिइसकेका थिए। त्यो सिरिजमा नेपाली टिमका प्रशिक्षक थिए- डेव वाटमोर। एनले नेपाली टिम सम्हालेपछि नेपालको ब्याटिङ प्रदर्शन शानदार बनेको थियो। उनी नेतृत्वको टिमले कीर्तिपुर मैदानमा भएको तीनदेशीय सिरिजमा सनसनी मच्चाएको थियो।
त्यसैको प्रभावले हुनसक्छ, नेपालले आफ्नै मैदानमा हराउन नसकेको ओमनलाई पनि हरायो। तर, शृंखलामा समग्रमा दुई जित र दुई हारकै नतिजा हात लाग्यो। नेपालले ओमन र अमेरिकासँग १–१ जित निकाल्दा समान हार व्यहोर्यो। सिरिजको अन्तिम खेलमा ओमनलाई हराएपछि नेपाली टिमबाट वाटमोरले राजीनामा दिए।
खेलाडीले ओमनविरुद्धको जित डेव वाटमोरलाई समर्पण गरेका थिए। एक वर्षको सम्झौता गरेका वाटमोर सम्झौता अवधिभर टिक्न सकेनन्। उनी भारत लागे। लिग-२ का पहिलो दुई शृंखला फरकफरक प्रशिक्षकले खेलाए। त्यो नै उनीहरुको अन्तिम शृंखला पनि बन्यो।
000
त्यसपछि नेपाली टिमको प्रशिक्षणमा फर्किएका थिए, पुबुदु दाशानायके। पुबुदु आउने भएसँगै क्यानले सन्दीपलाई कप्तानीको जिम्मेवारी दियो। टिम असन्तुष्टिबारे मिडियामा बोलेको भन्दै क्यानले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र ऐरी, कमलसिंह ऐरीलगायत खेलाडीलाई कारबाही गरेको थियो। क्यान र खेलाडी खुलेरै एक अर्काविरुद्ध लागेका थिए।
त्यो समय यस्तो थियो, की नेपाली टिमसमेत दुई भागमा विभाजन भएको आकलन गर्न सकिन्थ्यो। एउटा समूह थियो-सन्दीपको कप्तानी स्वीकार्ने, अर्को अस्वीकार गर्ने। तर, क्यानले कारबाही गर्ने डरले खेलाडीले यो कुरा सार्वजनिक रूपमा कहिलै पनि बताएनन्। क्यानले ज्ञानेन्द्रलाई कारबाही गर्दा अध्यक्ष चतुरबहादुर चन्दले भनेका थिए, ‘ज्ञानेन्द्रले टिमलाई एकताबद्ध बनाउने सकेनन्। त्यसैले कप्तान परिवर्तन गर्ने निर्णय लिएका हौँ।’

पुबुदु दशनायके
त्यसपछि पनि नेपाली टिम मिल्न सकेन। पुबुदु फर्किएपछि नेपाली टिम सन्तुलित हुन्छ भन्ने अनुमान पनि फेरियो। यद्यपि सन्दीपको कप्तानमा नेपालले पहिलो लिग-२ को शृंखला १६ मार्च २०२२ देखि युएईमा खेल्यो। नेपालले पहिलो खेल जित्यो। शृंखलाको ओपनिङमा कुशल भुर्तेल, आसिफ शेख र पवन सर्राफको जोडी फेरियो। डेभले सबै खेलमा कुशल र आसिफलाई खेलाउने गरेकामा पुबुदुले पवनलाई पनि स्पेस दिएका थिए।
उक्त सिरिजमा नेपालले दुई खेल जित्यो। दुई खेलमा पराजय भोग्यो। पपुवा न्युगिनीविरुद्धको दुवै खेल जित्यो भने युएईविरुद्धको दुवै खेलमा हार बेहार्यो। त्यो बेलासम्म नेपालले १२ खेलबाट १२ अंक बनाएको थियो। त्यतिबेलासम्म प्रदर्शन औसत रह्यो।
000
युएईविरुद्धको सिरिज खेलेको साढे दुई महिनापछि नेपाल अमेरिका पुग्यो। टोलीलाई पुबुदु र सन्दीपले लिड गरिरहेकै थिए। त्यो सिरिज नेपालका लागि खराब रह्यो। नेपालले एक खेलमा मात्र जित निकाल्यो। एक खेल टाइमा गयो। चार खेलबाट जम्मा तीन अंक जोडेको नेपालको पतन सुरू हुँदै थियो।
अमेरिका भ्रमणको एक महिनापछि नेपालले स्कटल्यान्डको भ्रमण गर्यो। राजधानी ग्लास्गो र अयरमा नेपालले चार खेल खेल्दा सबैमा पराजित भयो। त्यहाँ तीन खेलमा नेपालले जवाफी ब्याटिङ गरेको थियो भने र एक खेलमा पहिले ब्याटिङ गरेको थियो। नेपालका पोल्टामा हारबाहेक केही परेन। जुलाई १७ मा शृंखला सकिएसँगै पुबुदुले नेपाली टिमबाट राजीनामा दिए। त्यही दिन उनी क्यानडाको प्रशिक्षक बनेका थिए।
पुबुदुले टिममा व्याप्त असमझदारीलाई मिलाउन सकेनन्। उनले बिदाइमा नेपाली टिम एक नभएको र पहिलेजस्तो खेलाडीले एक अर्कालाई सहयोग नगरेको आरोप लगाएका हल्ला चलेको थियो। स्कटल्यान्डको शृंखलापछि नेपालले २० खेल खेलिसकेको थियो। त्यसमा नेपालले १५ अंक मात्र बटुलेको थियो। जहाँ एक खेल टाई भएको थियो।
लिग तालिकाको छैटौँ स्थानमा रहेको अवस्थामा धेरै क्रिकेटप्रेमीले भन्ने गरेका थिए- अब नेपाली क्रिकेटलाई भगवानले मात्र बचाउन सक्छन्। ठूलो अन्योल, खेलाडीबीचमा बढ्दो बेमेल र क्यानले लगातार लिएको गलत निर्णयले नेपाली क्रिकेट भूमरी फसेको थियो।
यसैबीच लिग-२ को बाँकी खेल नजिकिएका थिए। जसका कारण क्यानमाथि नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्ने दबाब थियो। र, क्यानले भारतका मनोज प्रभावकरलाई (अगस्त २७, २०२२)मा प्रशिक्षक नियुक्त गर्यो। एक समय भारतीय कांग्रेसको राजनीति गरेर असफल बनेका र क्रिकेटमा पनि विवादित बनेर कारवाहीसमेत भोगेका प्रभावरकलाई प्रशिक्षक नियुक्त गर्ने क्यानको निर्णय आलोचित थियो। यद्यपि उनको क्रिकेट प्रशिक्षण लिएर धेरैलाई शंका भने थिएन। खेलाडी जीवनमा उनी भारतले पाएका अहिलेसम्मकै उत्कृष्टमध्येका अलराउन्डर थिए।
प्रभाकर भारतीय टिममा रहँदा उत्कृष्ट बलर थिए। सँगै उनले खेलेका ४० खेलमा २३ इनिङमा ओपनिङ ब्याटिङ पनि सम्हालेका थिए। ‘सबै खेलाडीले अलराउन्ड प्रदर्शन गर्न सक्नुपर्छ,’ उनी भन्थे। प्रभावकरले खेलाडीलाई अनुशासनमा राख्ने दाबी समेत गरेका थिए, ‘म निकै कडा स्वभावको प्रशिक्षक हुँ। खेलाडीलाई डिसिप्लिनमा राख्छु।’
तर, उनले दाबी गरेझैं उनको कडा स्वभावले नेपाली खेलाडीलाई प्रभाव पारेन। खेलाडीलाई अनुशासनमा राख्ने उनको दाबी पनि सत्य सावित हुन सकेन। उनले नेपाली टोलीलाई केन्या र लिग-२ का नोमिबिया लगे। गत डिसेम्बरमा नमिबियाको युनाइटेड क्रिकेट मैदानमा नेपाले चार खेल खेल्यो।
पहिलो खेलमा स्पष्ट नतिजा निस्किएन। बाँकी सबै खेलमा नेपाल पराजित भयो। नेपालले लगातार दुई शृंखलामा एउटा पनि जित दर्ता गर्न सकेन। आठ खेलबाट केवल एक अंक जोड्यो। यो नतिजालाई हेर्दा नेपाली क्रिकेट सम्भवतः इतिहासमै सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको थियो। क्रिकेटप्रेमीका मनमा एउटा प्रश्न उब्जिन थालिसकेको थियो। त्यो प्रश्न हो- लिग-२ मा नेपालले पनि जित्न सक्छ र?
यता क्यानले सरकारी अनुमति विना भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसँग गरेको सम्झौता आलोचित र विवादित बनेको थियो। जसका कारण उक्त सम्झौता रद्द गरियो।
उता सेभेन थ्री स्पोर्टसले धम्कीपूर्ण मेल पठायो र पुनः नेपाली टी–२० लिगको सम्झौता अघि बढ्यो। यो विषय ‘ओपन सेक्रेट’ जस्तै छ। यो विषयमा क्यान लामै समय आलोचनाको घेरामा परेको थियो।
त्यो बेला क्रिकेट वृत्तमा मनोज प्रभाकरलाई सेभेन थ्री स्पोटर्सले नै पठाएको गाइँगुइँसमेत चल्न थालेको थियो। तर, यो प्रमाणित आरोप भने होइन।
मनोजको प्रशिक्षणकालमा नेपाली टिम अति गिजोलियो। केन्या भ्रमणमा जाँदा प्रभावकर र खेलाडीबीच विवाद भयो। उक्त विवादबारे गरिएको प्रश्नमा उनले भनेका थिए, ‘यो सामान्य विषय हो। टिममा हुने यस्ता विषयलाई फरक रूपमा हेर्नुपर्ने कारण छैन।’
जे होस् उनले कुशलको ओपनिङ खोसेको भने सत्य हो। अर्जुन साउदलाई उनले परीक्षण गरे। हरिशंकर शाहलाई पनि यदाकदा प्रयोग गरे। राष्ट्रिय टिमबाट अवसर पाउनेमा सागर ढकालको नाम पनि थपियो।
प्रभावकरले युवा खेलाडीले अवसर त दिए। तर, महत्त्वपूर्ण खेलमा नेपालले जित दर्ता गर्न सकेन। नेपाल एकदिवसीय खेलमा खराब स्थितिबाट गुज्रिएकै थियो। एकदिवसीय मन्यता जोगाउन सके मात्रै पनि ठूलो उपलब्धि मान्नुपर्ने अवस्था सिर्जना भएको थियो।
क्यानले प्रशिक्षक प्रभाकरलाई आपसी समझदारीमा बिदा गर्यो। सेभेन थ्री स्पोटर्सले पनि नेपाल टी-२० लिग चलिरहँदा हात झिक्यो। अहिले मनोजलाई प्रशिक्षक नियुक्त गर्ने निर्णयलाई क्यान आफैंले गल्ती मानेको छ। क्यानका पदाधिकारी र क्रिकेटका जिम्मेवार व्यक्तिहरुले अनौपचारिक रूपमा यस्तै भन्छन्।
‘मान्छे चिनियो नि! कुनै–कुनै अवस्थामा मान्छे चिन्नु पनि महत्वपूर्ण हुन्छ,’ अनौपचारिक कुराकानीमा क्यानका पदाधिकारीले प्रभावकरका विषयमा भन्ने गरेका छन्। उनीहरु सेभेन थ्री स्पोट्स वा प्रभाकरको नियुक्ती गर्ने गलत निर्णयलाई लिएर चुकचुकाउँदै हिड्ने अवस्था आइलागेको छ।
प्रभाकरको बिदाई भएपछि नेपाली क्रिकेटमा देखिएको निराशा अझ बढेको थियो। ‘नेपाल त क्रिकेट प्रशिक्षकको ट्रान्जिट मात्र भइरहेको छ,’ समर्थकले भन्न थालेका थिए। यसबीचमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको पटकपटक राजीनामा मागियो। क्यानकै ६ जना सदस्यले चन्द र सचिव प्रशान्त विक्रम मल्लको राजीनामा मागेका थिए। ६ जना सदस्यले क्यानको बैठक नै बहिस्कार गरे। दबाब बढ्दै जाँदा पोखरामा भएको बैठकमा सचिव मल्लले राजीनामा दिए।

त्यसो त मल्ल २०७६ को असोजमा भएको चुनावबाटै आएका सचिव भने थिएनन्। निलम्बन फुकुवा भएर निर्वाचन भएपछिका सचिव अशोकनाथ प्याकुरेलले यो पहिल्यै राजीनामा दिइसकेका थिए। सुर्खेतमा भएको साधारण सभाले दुर्गाराज पठकलाई सचिव मनोनित गर्यो।
यसैबीचमा कप्तान सन्दीपलाई भने बलात्कर आरोप लाग्यो। उनी केन्या रहेका बेला लागेको बलात्कारको आरोपका कारण नेपाल फर्कएपछि थुनामा परे। पुस उच्च अदालत पाटनले उनलाई विदेश जान नपाउने गरी २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी २९ गते रिहा भए। उनको मुद्दा अदालतमा अझै विचाराधीन छ। बलात्कारको आरोप लागेर थुनामा परेपछि उनले कप्तानीबाट हात धुनुपर्यो।
रिहा गर्ने आदेश दिँदा अदालतले उनको नियतमा आशंका देखिएको ठहर गरेको थियो। तर, क्यानले उनलाई बन्द प्रशिक्षकणमा राख्ने निर्णय गर्यो। उनलाई टिममा राख्ने क्यानको निर्णयको चौतर्फी विरोध भयो। तर, क्यान आईसीसीले नरोकेको भन्दै आफ्नो निर्णयबाट पछि हटेन। त्यतिबेला नै त हो उपकप्तान रोहित पौडेल कप्तान बनेका।
देसाईको इन्ट्री
नेपाली क्रिकेट अनेक विवाद र अन्योलबाट गुज्रिरहेको बेला क्यान मुख्य प्रशिक्षकको खोजीमा थियो। आवेदन दिनेमा पूर्वप्रशिक्षक डेव वाटमोरलगायत थिए। यस्तो बेलामा क्यान सामु ठूलो चुनौती थिय- कसलाई प्रशिक्षक बनाउने?
ठूलो अन्योलबीच भारतका मोन्टी देसाई नेपाल आए। उनी एकाएक त्रिवि क्रिकेट मैदानमा देखिएका थिए। उनी नेपाल आएको १० दिनपछि (फेब्रुअरी ६ मा) मात्र क्यानले उनलाई प्रशिक्षक नियुक्त गरेको घोषणा गर्यो। र, प्रशिक्षक सार्वजनिक गर्यो।
‘म ह्याप्पी ड्रेसिङ रुम बनाउन चहान्छु,’ नेपाली टिमको प्रशिक्षकका रूपमा सार्वजनिक हुँदा देसाईले भनेका थिए, ‘नेपाली युवा टिममा धेरै जोश छ। उनीहरु सिक्नको लागि उत्साही छन्। म सिकाउने छु।’

मोन्टी देशाई
नामिबिया र स्कटल्यान्डविरुद्धको सिरिज फेब्रुअरी १४ मा सुरु हुँदै थियो। लिग-२ मा यसअघि नेपालले यी दुई टिमलाई हराउनै सकेको थिएन। तर, पहिलो खेलमा नै चमत्कार देखियो। नेपालले नामिबियालाई हरायो। लिग-२ मा यस्तो पहिलो पटक भयो। र, मोन्टीले सुखद् डेब्यू गरे।
नेपाललाई एकदिवसीय मान्यता जोगाउन ११ खेलमा ७ जितको खाँचो थियो। नामिबियाविरुद्धको जितले केही आशा जगायो। अर्को खेलमा त नेपालले अपत्यारिलो नतिजा निकाल्यो। नेपालले इतिहासमै पहिलो पटक स्कटल्यान्डलाई पराजित गर्यो। एकपछि अर्को खेल जितेको नेपालले सिरिज नै क्लिन स्विप गर्यो। नेपालले लगातार जित निकालेको त्यो पहिले शृंखला थियो। मोन्टीले त नेपाली क्रिकेटको परिभाषा नै बदलिदिए– नेपालले स्कटल्यान्ड र नामिबियालाई पनि हराउन सक्छ।
घरेलु मैदानमा भएको सिरिज ‘क्लिन-स्विप’ गरेको नेपाली टोली युएई भ्रमणमा निस्कियो। खासमा यो सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने थियो। तर, उसले आयोजना गर्न नसकेपछि शृंखला दुबईमा भयो। त्यो शृंखलामा पनि नेपालले सम्झनलायक प्रदर्शन गर्यो। नेपालले चारमध्ये तीन खेल आफ्नो पक्षमा पार्यो। त्यो शृंखलापछि नेपाली टिमको प्रदर्शन र प्रशिक्षक मोन्टीको चौतर्फी प्रशंसा हुन थाल्यो।
प्रशिक्षक मोन्टीले नेपाली टिममा के मिसाए जसले गर्दा लगातार जित सम्भव भइरहेको छ? यो प्रश्नमा मोन्टीको सरल जवाफ छ, ‘मैले आफ्नो जिम्मेवारी मात्र निभाएको हुँ।’ मोन्टी नेपाल आएपछि लाग्छ अब क्यानले मान्छे चिन्न थालेको छ। कोसँग सम्झौता गर्नुपर्ने हो? थाहा पाएको छ।
अब नेपालले घरेलु मैदानमा अन्तिम शृंखला खेल्दै थियो- पहिलो खेलमा जित निकालेपछि नेपालले एकदिवसीय मान्यता जोगायो।
७ देश सम्मेलित लिग-२ मा एकदिवसीय मान्यता जोगाउन पाचौँ हुनुपर्ने थियो। कीर्तिपुर मैदानमा नेपालले त्यो लक्ष्य पूरा गर्यो। त्यसपछिका तीन खेलमा तीन वटै खेल जित्न सके नेपाल सिधै आईसीसी विश्वकपको ग्लोबल छनोटमा पुग्ने पक्का थियो। नेपाली टिममा जति विश्वास थियो, त्यति नै विश्वास मोन्टीले समर्थकलाई दिलाउन सफल भएका थिए।
नेपाली समर्थकमा खेलाडीमाथिको विश्वास फेरि भरिएर आयो। खाली हुँदै गएको त्रिवि क्रिकेट मैदानको प्याराफिटमा दर्शक फर्किन थाले। राइनोज र चन्द्रसूर्यको झण्डा फेरि फहराउने थाले। नेपाली टिमले जित्दै गएपछि सबै खेलप्रेमी सम्मोहित हुँदै गए।
त्रिवि मैदानमा अब समर्थक फर्किन गाह्रो छ भन्ने भाष्यलाई बदल्दै नेपाली टिम इतिहास बनाउने बाटोतर्फ लाग्यो। गत बिहीबार युएईलाई हराएर नेपाल विश्वकप छनोटमा पुग्ने योजनामा थियो। यो ऐतिहासिक पलको साक्षी बन्न चाहन्थे नेपाली समर्थक। सायद त्यसैकारण होला खेलको अघिल्लो दिन नै सबै टिकट बिकिसकेको थियो। समर्थकलाई विश्वास थियो- नेपालले जित्नेछ। टिकट लिन नपाएका समर्थले प्याराफिट बाहिरै बसेर खेल हेरे।
बिहीबार नेपालले त्रिवि मैदानमा युएईलाई डिएलएस मेथडबाट युएईलाई ९ रनले हराउँदै लिग-२ को यात्रा समापन मात्र गरेन, विश्वकपको ग्लोबल छनोटमा पनि पुग्यो। योसँगै एसोसिएट देशहरूमा तेस्रो बन्न सफल पनि भयो।
मोन्टी देसाईको प्रशिक्षणमा नेपालले १२ मध्ये ११ खेलमा जित निकाल्यो। रोहित नेपालका लागि सबैभन्दा धेरै खेल र लगातार टस जित्ने कप्तान बने।
‘म तपाईंहरुलाई भन्न चाहन्छु, रोहित नेपाली टिमको सर्वाधिक सफल कप्तान बन्नेछन,’ मोन्टीले लिग-२ को समापनपछि भनेका छन्।
यो सबै देखेपछि लाग्छ, के उनले वास्तवमै नेपाली टिमसँगै चमत्कार गरिरहेका छन् त? ‘मैले केही चमत्कार गरेका छैन। मात्रै आफ्नो भूमिका इमानदारीपूर्वक निभाएको हुँ। यो सबै खेल ट्याक्टिसको जानकारीले सम्भव भएको हो,’ मोन्टीको जवाफ छ।
बिहीबारको खेलपछि प्रशिक्षक मोन्टीलाई सोधियो- तपाईंको जितको फर्मुला के हो? सिद्धान्त के हो? उनले जवाफमा आफूसँग त्यस्तो केही नभएको बताएका छन्, ‘हामीले तथ्यांकमा धेरै विश्वास गर्नुपर्ने हुन्छ। हामी हरेक दिन एक प्रतिशत राम्रो गरिरहेका छौं। ड्रेसिङ रुममा शान्त छौं।’
उनले आफूसँग ‘विनिङ फमूला’ नरहेको जिकिर गरे। ‘मसँग विनिङ फर्मुला छैन, सिद्धान्त पनि छैन। तर, च्याम्पियन टिमको भावना कस्तो हुन्छ, त्यो कस्तो देखिन्छ भनेर हामी सबै बसेर छलफल भने गर्छौँ। त्यसमा व्यवस्थापन र खेलाडीले कसरी अपरेट गरिरहेको हुन्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो।’
अब नेपालले जिम्बाबेमा हुने ग्लोबल छनोट खेल्नेछ। त्यो छनोटमा नेपालले श्रीलंका, दक्षिण अफ्रिका, आयरल्यान्डलगायत देशको सामना गर्नेछ। आगामी यात्रालाई नेपाली टिमले कसरी लिएको छ त? ‘केही अघिसम्म त ‘वान डे’ मान्यता जोगाउन नै धौधौ थियो। तर हामीले लगातार जित्यौँ। सबैले शीर्ष तीनमा पुग्ने लक्ष्य राखेका थियौँ,’ कप्तान पौडेलले भनेका छन्, ‘तर मोन्टी सर आएपछि मात्र यो सम्भव भयो। यो मेरो मात्र होइन, सबैको उपलब्धि हो। यो सफलतामा टिकेर कहाँसम्म पुगिन्छ, भन्न सकिँदैन, तर राम्रो गर्दै जानेछौँ।’
लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी
बलिङको कुरा गर्ने हो भने लिग-२ को ३६ खेलको यात्रामा बलिङ गरेका २५ बलरमध्ये दुई खेलाडीले ५० विकेट पूरा गरे भने १८ बलरहरुले कम्तीमा १ विकेट लिए।
ओमानविरुद्ध दुई खेल बिर्सने हो भने सन्दीपले हरेक खेलमा विकेट लिए। उनले अमेरिकाविरुद्ध १६ रन खर्चिएर ६ विकेट लिनु नै वेस्ट बलिङ फिगर हो। लिग-२ मा सन्दीपले पाँच पटक ४ विकेट र २ पटक ५ विकेट लिए। सबै खेलमा गरेर उनले ७२ विकेट लिएका छन्।

युएई विरुद्धको खेल हेर्न उर्लिएका दर्शक । तस्विर: क्यान
करण केसी विश्वकप लिग-२ मा नेपालका लागि दोस्रा सफल बलर हुन्। उनले ३० खेलमा ५० विकेट लिएका छन्। र, नेपालका लागि तेस्रो सफल बलर हुन्, सोमपाल कामी। सोमपालले लिग-२ का ३१ खेलमा ३६ विकेट लिए।
ब्याटिङमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी आसिफ शेख हुन्। उनी ३० खेलबाट हजार रन (९३४) नजिक पुगेका छन्। उनले एक शतक र ७ अर्धशतकसँगै ८० को स्ट्राइकर रेटमा सो रन पूरा गरेका हुन्।
आसिफको नजिकै छन्, रोहित पौडेल। ९०९ रन बनाएका रोहितले ३० खेलमा ६ अर्धशतक बनाएका छन्। उनको उच्च स्कोर ९५ रन छ। नेपालका लागि कुशल भुर्तेलले ६८१ र आरिफ शेखले ५९५ रन बनाएका छन्।


