डालस, टेक्सस – नेपाली जनसम्पर्क समिति अमेरिका अन्तरगतको डालस फोर्टवर्थ च्याप्टरले हालै मात्र शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपाली कांग्रेस समर्थित यो संस्थाका अध्यक्ष उज्वल खत्रीले दिएको जानकारी अनुसार अमेरिकाको टेक्ससस्थित डालसमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा समाज तथा संगठनका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो।
समाज र संगठनमा दिएको अतुलनीय योगदानको कदर गर्दै कार्यक्रममा सुन्दर कर्माचार्य, अमृत सापकोटा, भगवान मैनाली, ओम भट्टराई र ज्ञानेन्द्र कार्कीलाई विशेष सम्मान गरिएको थियो। ‘उहाँहरुको सम्मान साथसाथै बदलिएको कांग्रेसको सान्दर्भिकताका विषयमा पनि हामी सबै वक्ताहरुले कार्यक्रममा चर्चा गरेका थियौं’, अध्यक्ष खत्रीले नेपाल क्लिक्ससँग भने, ‘कांग्रेसलाई रुपान्तरण गर्न गगन थापा र विश्वप्रकाश शर्माले जुन पहल गर्नुभयो त्यसले हामी अमेरिकावासी डेमेक्रेट नेपालीहरुलाई पनि उत्साही बनाएको छ।’
कार्यक्रममा स्थानीय समुदायका अगुवा व्यक्तित्वहरू र पार्टीका शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। नेपाली जनसम्पर्क समिति अमेरिका अन्तरगतको ड्यालस फोर्टवर्थ च्याप्टरका लागि केही महिनाअघि मात्र भएको चौथो अधिवेशनले चयन गरेका अध्यक्ष खत्रीले संस्थाको सक्रियता बढाएका छन्। ‘बेलाबेलामा यहाँका नेपालीबीच विभिन्न कार्यक्रम गर्ने र नेपाली समूदायलाई चलायमान बनाउने लक्ष्य छ’, अध्यक्ष खत्रीले भने।





