काठमाडौं – हङकङमा जारी एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टिमले हार बेहोरेको छ। हङकङमा जारी प्रतियोगिताअन्तर्गत नेपालले पाकिस्तान एसँग ९ रनको हार बेहोरेको हो।
खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर ८७ रन बनाएको थियो। ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रनमा समेटिएपछि पाकिस्तानले जित निकालेको हो।
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २०, कविता जोशीले अविजित १५ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २,२ विकेट लिएका थिए।
खेलका पहिलो पारीमा पाकिस्तानी ब्याटर शवाल जुफिकले २८ र कप्तान साना फतिमाले १६ रन बनाइन्। त्यस्तै, गुल फरुजाले ११ रनको योगदान दिएन्।

यो जितसँगै दुई अंक जोडेको पाकिस्तान समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। पराजित नेपाल भने दोस्रो स्थानमा छ ।
प्रतियोगिताको समूह ए मा नेपालसँगै आयोजक हङकङ, भारत र पाकिस्तानका छन्। अब नेपालले दोस्रो खेल आउँदा विहीबार भारतसँग खेल्नेछ। त्यस्तै, १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ।
प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।


