नेपाली राष्ट्रिय क्रिकेट टिमका मूख्य प्रशिक्षक मोन्टी देशाईले एसीसी प्रिमियर कपको लागि प्नारम्भिक टोलीको घोषणा गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक सूचना जारी गर्दै २१ सदस्यीय प्रारम्भिक टोलीको सूची सार्वजनिक गरेको हो।
प्रारम्भिक टोलीमा देशाईले कुशल भर्तेल, रोहित पौडेल, ज्ञानेन्द्र मल्लसँगै देव खनाललाई पनि स्थान दिएका छन्। नेपाली टिममा यसबाहेक आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी लगायतका शीर्ष क्रमका ब्याटरहरु रहेका छन्।
त्यस्तै, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी, ललित राजवंशीलगायतका बलरहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जानकारी दिएको छ।
प्ररम्भिक छनोटमा सन्दीप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी, अर्जुन साउँद, सूर्य तामाङ, किशोर महतो पनि रहेका छन्। नेपालमै आयोजना हुने एसीसी प्रिमियर कपमा नेपालको त्रिवी क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ। सो प्रतियोगितामा १० देशले भाग लिएका छन्।
दुई समूहमा विभाजन गरिएका ती टिमहरुमध्ये नेपाल समूह ‘ए’मा रहेको छ। समूह ‘ए’मा नेपालसँगै मलेसिया, साउदी अरेबिया कतार र ओमन रहेका छन्। लिग २ को अन्तिम शृंखलापछि विदामा रहेका मोन्टी शनिबार नेपाल आइपुग्ने छन्।
