काठमाडौँ: गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा करिब साढे ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको अर्थमन्त्रालयले जनाएको छ।
बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मन्त्रालयले ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको सार्वजनिक क्षेत्रमा, ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको निजी क्षेत्रमा र ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सामुदायिक क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको भौतिक क्षति भएको जनाएको छ। मन्त्रालयकाअनुसार सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक क्षेत्रमा ७ प्रतिशत नोक्सानी भएको हो।
आन्दोलनबाट क्षतिग्रस्त भवन तथा भौतिक वस्तुको पुनर्निर्माण र सवारीसाधन मर्मतमा ३६ अर्ब ३० करोड ३१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
यस्तै वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी मन्त्रालयले दिएको छ।
उक्त आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको थियो। जसमा ३९ जना युवा रहेका छन्। यस्तै दुई हजार ४२९ जना घाइते भएका थिए।आन्दोलनका कारण दुई हजार ३५३ जनाले पूर्णरूपमा रोजगारी गुमाएको मन्त्रालयले जनाएको छ।
आन्दोलनका कारण सार्वजनिक वित्त र राजस्वमा पनि असर पुगेको छ। जसकारण राहत र पुनर्निर्माणका लागि बजेटमा नभएको थप दायित्व सिर्जना भएको तथा औद्योगिक प्रतिष्ठानहरूलाई दिइएको कर छुट र व्यवसायिक शिथिलताका कारण राजस्व संकलनमा संकुचन आउने देखिएको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्।
सरकारले जेनजी आन्दोलनका मृतक ५३ जनाको परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ भने उपचार खर्च उपलब्ध गराउनुका साथै व्यवसायीहरूका लागि कर छुट, सहुलियत र ऋणको पुनर्तालिकीकरण सहितको ‘एकीकृत व्यवसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याएको जानकारी मन्त्रालयले दिएको छ।


