काठमाडौँ: साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सार्वजनिक भएको छ। अस्ट्रेलियमा रहेका शर्माको उक्त उपन्यास सिड्नीमा सार्वजनिक गरिएको हो।
गार्गी शर्मा, ज्ञानुवाकर पौडेल, सानु घिमिरे, शौरभ श्रेष्ठ र लेखकले संयुक्त रूपमा उक्त किताब सार्वजनिक गरेका हुन्। ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा भएको कार्यक्रममा लेखक, अग्रज साहित्यकार र नेपाली डायस्पोरिक समुदायको सहभागिता रह्यो।
कार्यक्रममा सानु घिमिरेले पुस्तक संवादको संयोजन गर्दै उपन्यासका विविध आयामबारे केलाएकी थिइन्। लेखक प्रकाश पन्थी तथा प्रज्ञा पनेरुले लोकार्पित पुस्तक ‘कम्पनी’ माथि आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतिज्ञा अधिकारीले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तव्य व्यक्त गरे।
करिब एक दशकदेखि सिड्नीमा बसोबास गर्दै आएका शर्मा अस्ट्रेलियाको पोस्टल सर्भिसेजमा कार्यरत छन्। लामो समय अखबारी लेखनमा संलग्न रहेपछि उनी आख्यान लेखनतर्फ प्रवेश गरेका हुन्।
‘कम्पनी’ उपन्यास दक्षिण कोरियाको सोल सहरमा एक विद्यार्थी र मजदुर जीवनको दोसाँध वरिपरि केन्द्रित छ। परम्परागत बाटो नहिँडेर आफ्नो मनको आवाज सुन्ने एक वयस्क युवकको ‘कमिङ अफ द एज’ कथा यस उपन्यासमा प्रस्तुत गरिएको छ।
उपन्यास बुकहिल पब्लिकेशनले प्रकाशित गरेको हो। पुस्तक थुप्रै, किताबकीरो, किताबयात्रा, किताबडब्बा र सारांशमार्फत अनलाइनमार्फत अर्डर गर्न सकिने बुकहिल प्रकाशनगृहका भूपेन्द्र खड्काले जानकारी दिए।


