काठमाडौँ: नेपाली कांग्रेसले सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बुधबार सार्वजनिक प्रतिज्ञापत्र अन्तर्गत भिजन १०मा समेटेको छ।
तर, अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्ने भिजन कांग्रेसले लिएको छ।
आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्ने कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेको छ।
‘आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ । सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ,’ भिजन १० मा भनिएको छ।
साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउने योजना ल्याएको छ। कांग्रेस श्रमिकको पसिना पवित्र रहेको भन्दै उसको मेहनतको उचित मूल्य सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुने उल्लेख गरेको छ।


