काठमाडौँ: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ
गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। हाल १४ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टर, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेज र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ। यस्तै, ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौं बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, झापाका वर्ष ३० को विपिन मानन्धर, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, काठमाडौं गोकर्णका वर्ष २८ की पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने छन्।
ट्रमा सेन्टरमै काठमाडौंको बौद्ध बस्ने नोर्बु पाल्देन, स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौं बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गको सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।
धादिङमा गएराति भएको दुःखद् बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ।
मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बैठकले घाइतेहरूको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शिघ्र प्रतिवेदन बुझाएर यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ। यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ।
आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ। सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन र कडाईकासाथ नियमन गर्न निर्देशन दिए।
दुर्घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए। निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौती थपिनसक्ने खतरा औल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वका लाग्न सबै सरोकारवालाहरूलाई आग्रह गरे।







