काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा छन्। उनले सोमबार मात्रै आफ्नो उपचारका लागि सहयोग गर्न अपिल गरेकी थिइन्। गम्भीर घुँडा चोटका कारण महँगो उपचार आवश्यक परेपछि आर्थिक सहयोगको अपिल गर्न बाध्य भएको उनको भनाइ थियो।
उनी पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी छ्न्। उपचार, शल्यक्रिया तथा ७–८ महिना लामो पुनर्स्थापनाका लागि करिब ८० हजार अमेरिकी डलर (आजको मूल्यअनुसार नेपाली १ करोड १५ लाख ८२ हजार रुपैयाँ) खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
यसैबीच उनको उपचारका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा ५ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका छन्।
सभापति गगनकुमार थापाल देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेकी प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको बताएका छन्।



