काठमाडौँ: नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि विदेशबाट ४२ लाख १९ हजार रुपैयाँ (४८ हजार ६६८ न्युजिल्यान्ड डलर) सहयोग जुटेको छ।
उनले सामाजिक सञ्जालमा राखेको वेबसाइटमार्फत मंगलबार दिउँसो १:१५ बजेसम्म उक्त सहयोग विदेशबाट उठेको हो। उक्त वेबसाइटमार्फत एक लाख ३५ हजार डलर उठाउने लक्ष्य राखिएको छ।

साम्बा’ घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा छन्।
सोमबार सामाजिक सञ्जालमार्फत् उनले सहयोगको अपिल गरेकी थिइन्।
उठाइएको रकम साम्बाको एसीएल शल्यक्रिया र ६–७ महिनाको पुनःस्थापनामा खर्च हुने बताइएको छ, जसको अनुमानित लागत करिब ८० हजार अमेरिकी डलर रहेको छ।
उनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँ सहयोग गरेको छ। अन्य व्यक्ति तथा संस्थाहरूले पनि उनले राखेको क्युआर कोर्डमार्फत सहयोग गरिरहेका छन्।
(न्युजिल्याण्ड डलर हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ।)
प्रकाशित: २०८२ फाल्गुण १२ गते मङ्गलबार ०१:१८