धनुषा: वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँ टोलमा गुञ्जिने होलीको सुमधुर धुन यतिबेला सुनिन छाडेको छ। श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म घर आँगन, चोक र गल्लीहरूमा जोगिरा गाउने युवापुस्ता विदेश पलायन हुँदा परम्परा लोप हुने चिन्तामा स्थानीय संस्कृतिप्रेमीहरू छन्।
‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग… जोगीरा सररर…!’
यस्ता प्रेम, हास्य र सदभावले भरिएका गीतले पहिले मिथिलाको होलीलाई जीवन्त बनाउँथे। होलीका अवसरमा गाइने यी विशेष गीतलाई ‘जोगिरा’ भनिन्छ।
संस्कृतिविद् किशोरी साहका अनुसार जोगिराले होली खेल्नेहरूबिच माया, सदभाव र उत्साहको सन्देश प्रवाह गर्दछ। उनले भने, ‘होली र सङ्गीतबिच गहिरो सम्बन्ध छ। सङ्गीतबिना होलीको परिकल्पना गर्न सकिँदैन। होलीले मनभित्रका कुण्ठित भावनालाई समेत शुद्ध पार्ने विश्वास रहिआएको छ।’
मिथिला नगरपालिका–२ नक्टाझिजका ७२ वर्षीय रामपृत महतोले विगत सम्झँदै भने, ‘पहिला वसन्त पञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँ गाउँ घुमेर जोगिरा गाइन्थ्यो। अहिले ढोल, मृदङ्ग केही बज्दैँनन्, फागुका गीत पनि सुनिदैँन।’ उनका अनुसार जोगिरा गाउने पुस्ता क्रमशः घट्दै गएकाले परम्परा सङ्कटमा परेको छ।
युवा विदेश पलायन हुनु, संस्कृति हस्तान्तरण हुन नसक्नुलगायत कारणले मौलिक परम्परा लोप हुने जोखिम बढेको उनले बताए। ‘यसपालिको होली नजिक आइपुग्यो, तर न जोगिराको स्वर सुनिन्छ, न बाजाको ताल’, उनले भने, ‘पुराना परम्परा जानेका, बुझेका साथीहरू धेरै बित्नुभयो, हामी पनि उमेरले थलिएका छौँ। गाउने रहर अझै छ, तर साथ दिने युवा छैनन्।’
हरिहरपुरका ७० वर्षीय रामसुन्दर महतोले जोगिराको पुरानो शैली स्मरण गर्दै सुनाए-
‘किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी… जोगिरा सररर…!’
यस्ता पौराणिक प्रसङ्ग, भक्ति, प्रेम र ख्यालठट्टाले भरिएका मैथिली जोगिरा अब विरलै मात्र सुनिन थालेका छन्। पुराना होलियाहरूका अनुसार जोगिराले सामाजिक भेदभाव मेट्दै समानता र सदभावकाे सन्देश दिन्थ्यो। तर अहिले ‘डिजे’ संस्कृतिको प्रभाव बढ्दै जाँदा मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कर्णले बताए।
मिथिलाञ्चलमा वसन्त पञ्चमीदेखि सुरु हुने होली गीत मिथिला माध्यमिकी परिक्रमासँग जोडिएको सांस्कृतिक परम्पराको हिस्सा पनि हो। धार्मिक मान्यताअनुसार फाल्गुण शुक्ल पूर्णिमाको रात होलिका दहन गरी भोलिपल्ट रङ खेल्ने परम्परा रहिआएको छ। जोगिराले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सेतुको भूमिका खेल्ने गरेको जानकारहरू बताउँछन्।
जनकपुरधाम–१२ का सतीशलाल कर्णले भने, ‘पहिलाका होली गीतमा धार्मिकता, जीवनको उमङ्ग र सांस्कृतिक प्रकाश झल्किन्थ्यो। अहिले भने उच्छृङ्खल गीतले स्थान लिएको छ।’
हरिहरपुरका रामलाल महतोका अनुसार आपसी रागद्वेष र सामाजिक विखण्डनले पनि जोगिरा परम्परा कमजोर बनाएको छ। सखुवा बजारका सत्यनारायण सिंहले स्मरण गर्दै भने, ‘पहिले राति चोकमा भेला भएर झ्याल, मृदङ्ग, ढोल र डम्फा बजाउँदै समूहगत रूपमा जोगिरा गाइन्थ्यो। अहिले त्यो दृश्य देख्न पाइँदैन।’ वैदेशिक रोजगारीका कारण युवा पुस्ता बाहिरिनु पनि यसको अर्को कारण मानिएको छ।
संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीका अनुसार ग्रामीण क्षेत्रका होली गीतमा स्थानीय माटोको सुगन्ध र मौलिकता झल्किन्थ्यो। ‘पश्चिमी प्रभाव र अश्लीलताले मौलिक जोगिरालाई विस्थापित गर्दै गएको छ’, उनले भने।
साहित्यकार तथा संस्कृतिविद् डा.राजेन्द्र विमलले जोगिरा संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको बताए। ‘होली यस्तो हुनुपर्छ जहाँ महिला, पुरुष निर्धक्क भएर सहभागिता जनाउन सकून् र विश्वले मिथिलाको उदाहरण प्रस्तुत गरोस्’, उनले जोड दिए।
यसैबिच, जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप) ले पछिल्ला वर्षहरूमा जोगिरा प्रतियोगिता आयोजना गर्दै संरक्षणको प्रयास गरिरहेको छ। यद्यपि, परम्परागत जोगिराको मौलिकता जोगाउन राज्य, स्थानीय तह र समुदाय सबैको सक्रिय चासो आवश्यक रहेको संस्कृतिप्रेमीहरूको धारणा छ।


