काठमाडौँ: संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार बिहानदेखि इरानमाथि आक्रमण गरिरहेका छन्। राजधानी तेहरानमा भीषण आक्रमण जारी छ। आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीलगायत सैनिक अधिकारीहरुको निधन भएको छ।
इजरायलको आक्रमणमा परी सर्वोच्च नेता खमेनीको निधन भएकोमा इरानले ४० दिन शोक मनाउने घोषणा गरिसकेको छ। अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरेबिया र जोर्डनका साथै इजरायलमाथि जवाफी मिसाइल आक्रमण गरेको छ।
यसले मध्यपूर्वमा हवाइ उडान बन्द हुनुनका साथै यातायात अवरुद्ध हुन पुगेको छ। यो अवस्था थप दुई/तीन दिन मात्र रह्यो भने ठूलो असर नपर्ला। तर, रुस र युक्रेनबीचको जस्तो युद्ध लम्बिए तेलको आपूर्ति र यातायात प्रणालीमा ठूलो असर पर्ने देखिएको छ। यसको भार नागरिकले बोक्नुपर्ने निश्चित छ।
अमेरिका र इरानबीचको युद्ध अबका एक दुई दिनमा कसरी अघि बढ्छ भन्ने कुराले निर्धारण गर्ने अर्थविद्ध डा चन्द्रमणि अधिकारी बताउँछन्। यदी युद्ध जारी भएमा यसको असर नेपाललाई पनि ठूलो पर्ने उनको भनाइ छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्दै आएका मध्यपूर्वका मुलुकहरु युद्धमा गएपछि कच्चा तेल आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ। यसले कच्चा तेल आपूर्तिमा मात्र नभई बहुपक्षीय असर पर्ने उनको विश्लेषण छ।
उनका अनुसार पहिलो असर कच्चा तेल आपूर्तिमा पर्नेछ। विश्वको एकतिहाइ बढी कच्चा तेलको व्यापार हुने हमुर्थ क्यानल बन्द भएको छ। यो पर्सियन खाडी र ओमान हुँदै जान्छ। यो क्यानल अहिले बन्द भइसकेको छ। यसले तेलको आपूर्ति र सामुन्द्रिक यातायातमा असर पर्ने देखिएको अर्थविद्ध अधिकारीको भनाई छ। यो क्यानल बन्द हुँदा साउदी अरेबियालगायत अन्य मुलुकबाट आउने तेलमा असर पर्नेछ।
दोस्रो कुरा, मध्यपूर्वको दुबई अहिले विश्वको एयर ट्रान्जिट बनेको छ। त्यहाँबाट अन्य मुलुक जान राम्रो गन्तव्य बनेको छ। युद्धका कारण मध्यपूर्वमा सबै एयरपोर्टहरु बन्द भएका छन्। अहिले युद्ध भएको मध्यपूर्व नेपालका लागि नजिकको क्षेत्र हो। यदी युद्ध जारी रह्यो र हवाइ आगमन बन्द हुन पुग्यो भने यात्रुको यात्रा लागत बढ्ने अर्थविद् अधिकारीको भनाइ छ।
नेपाल क्लिक्ससँग कुरा गर्दै अर्थविद् अधिकारीले भने, ‘यात्रा अवरुद्ध हुँदा यसले आवात जावतमा कठिनाइ हुन्छ। धेरै नेपालीहरु बाहिर छन उनीहरुको आवत जावतलाई कठिनाइ पार्ने देखिएको छ। यसको असर नेपालको पर्यटनमा पर्नेछ।’
अहिले युद्ध भएको मध्यपूर्व नेपालका लागि नजिकको क्षेत्र हो। यस क्षेत्रमा तनाव बढेपछि नेपालमा आउने वैदेशिक लगानीमा ठूलो असर पर्ने संभावना देखिएको छ। युद्धले झनै जटिल बनायो भने नेपाली जान नपाउने र त्यहाँ भएका नेपाली पनि फर्किनुपर्ने अवस्था आउन सक्छ। यसले हाल प्राप्त भइरहेको रोमिट्यान्समा ठूलो असर पर्ने सक्छ।
नेपाली फर्काउन सरकारले पहल गर्नुपर्छ। यसका लागि छिमेकी भारतसँग पनि सहकार्य अनिवार्य भएको उनको सुझाव छ। भारतले आफ्नो तर्फबाट नागरिक फिर्ता ल्याउन सुरु गरिसक्यो। सरक्षा, यात्रा, यातायात, रेमिट्यान्सलगायत स्रोत परिचालनमा पनि पर्नेछ। आपूर्ति श्रंखलामा समस्या आएपछि सबै उपभोग्य वस्तुलाई महँगो बनाइदिन्छ।
‘खामेनीको मृत्यु भएको कुरा आएको छ। बाँकी नेतृत्वले अघि बढछ कि सरेन्डर गर्छ एक दुई दिनमा आउला । यसले विश्व राजनीतिलाई असर पार्न सक्छ,’ उनले भने, ‘सात दिनमा सकिन्छ भनिएको रूस-युक्रेनको युद्ध हालसम्म जारी छ। सत्ता पलटको कुरा छ, इरानका जनताले कसरी लिन्छन र अबको कुन मोडमा जान्छ भन्ने महत्वपूर्ण कुरा हो।’


