काठमाडौँ: रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा फागुन १८ गते निर्वाचन सामाग्री बोकेको गाडी सडकबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाडीमा सवार अन्य सात जना घाइते भएका छन्।
गाडीमा जम्मा ११ जना सवार रहेको र तीमध्ये तीन जना दुर्घटनाको क्षणमा गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएको बताइएको छ। मन्थलीबाट कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रमा निर्वाचन सामाग्री तथा कर्मचारी लिएर जाँदै गरेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनापछि तत्कालै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिमप्राप्त टोली उद्धार कार्यमा खटिएको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







