काठमाडौं – नेपाली सिनियर पुरुष बास्केटबल टिमले आज माल्दिभ्समा पाकिस्तानको समना गर्दैछ। पहिलो खेलमा नै भुटानसँग हार बेहोरेको नेपालले जितको लक्ष्यसँगै पकिस्तानविरुद्ध भिड्न लागेको हो।
माल्दिभ्समा हिजो बुधबारबाट सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालको यो दोस्रो खेल हो भने पाकिस्तानको पहिलो खेल हो। तर पहिलो खेलमा नै हार बेहोरेपछि नेपालको फाइनल पुगने सम्भावना कमजोर बनेको छ।
त्यसैले, आज पौने ५ बने सुरु हुने खेलमा नेपाललाई जितको दबाब रहनेछ। माल्दिभ्स बास्केटबल संघको आयोजनामा जारी प्रतियोगितामा पाकिस्तान पनि जितसँगै सुरुआत गर्न चहान्छ।
यता नेपालले दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक खेल्न लागेको हो। सो प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यो प्रतियोगितालाई हेर्ने हो भने हामी यसको पनि उपाधि दावेदार हो। हामी राम्रो खेल्नेछौं, माल्दिभ्स जानुअघि नेपाली टिमका कप्तान सदिश प्रधानले भनेका थिए।
अब नेपालले बंगलादेशसँग शनिबार खेल्नेछ भने लिगको अन्तिम खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ।
जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागीता रहेको छ।
प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष दुई टोलीले फाइनल खेल्ने छ।
नेपाली टोली
सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह


