काठमाडौँ: उद्योगी-व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन्। बिहीबार बिहान उनले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
मतदान गर्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रको महत्त्व मनन गर्ने विश्वास रहेको बताएका छन्।
‘मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक हो। निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्छ,’ उनले भनेका छन्, ‘निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्वलाई मनन गर्दै निजी क्षेत्र सँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ।’
मत भनेको केवल अधिकार मात्र नभई, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि भएको बताउँदै मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् भन्ने कामना गरेका छन्। जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा उनले व्यक्त गरेका छन्।


