काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो कच्चा तेलको भाउ घटाउन यससँग सम्बन्धित केही प्रतिबन्ध फुकुवा र इरानसँगको युद्ध छिट्टै सकिने संकेत गरेका छन्।
राष्ट्रपति ट्रम्पको यस्तो संकेत आएपछि विश्व बजारमा तेलको भाउमा भारी गिरावट आएको छ। सोमबार मुरवान क्रुडमा कच्चा तेलको भाउ ब्यारेलको ११८ डलर माथि पुगेको थियो। मुरवानमा मंगलबार ब्यारेलको ११० डलर रहेको आयल प्राइस डटकमले जनाएको छ।
यस्तै ब्रेन्ट क्रुडमा तेलको भाउमा भारी गिरावट आई ८८.४१ डलरमा सीमित भएको छ। यस्तै डब्ल्युटीआई क्रुडमा ब्यारेलको ८४.८२ डलरमा कारोबार भएको आयल प्राइसले जनाएको छ।
ट्रम्पले फ्लोरिडामा रिपब्लिकन हाउसका सदस्यहरूलाई सम्बोधन गर्दा इरानसँगको द्वन्द्व अन्त्य हुन सक्ने संकेत गरेपछि तेलको मूल्य घटेको बताइएको छ। राष्ट्रपति ट्रम्पको उक्त भनाइ सार्वजनिक भएपछि कच्चा तेलको भाउ घट्न सुरु भएको हो।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता तेलको मूल्यमा भारी वृद्धि भएसँगै उपभोक्ताले इन्धनका लागि बढी मूल्य तिर्नुपरेको छ।
पछिल्लो पाँच वर्षयता सबैभन्दा उच्च मूल्य हो। त्यसपछि निरन्तर घटेर ५५ डलरमा आएको थियो। तर, अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको भाउको ग्राफ बढ्दै गएको छ।
अमेरिका र इजरायलले अघिल्लो शनिबार बिहानदेखि इरानमाथि आक्रमण गरिरहेका छन्। राजधानी तेहरानमा भीषण आक्रमण जारी छ।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरेबिया र जोर्डनका साथै इजरायलमाथि जवाफी मिसाइल आक्रमण गरिरहेको छ।
यसले मध्यपूर्वमा हवाइ उडान बन्द हुनुका साथै जल यातायात पनि अवरुद्ध हुन पुगेको छ।
यदी युद्ध जारी भएमा यसको असर नेपाललाई पनि ठूलो पर्ने देखिएको छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्दै आएका मध्यपूर्वका मुलुकहरु युद्धमा गएपछि कच्चा तेल आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ। यसले कच्चा तेल आपूर्तिमा मात्र नभई बहुपक्षीय असर पर्ने विश्लेषकहरुको भनाई छ।
पहिलो असर कच्चा तेल आपूर्तिमा पर्नेछ। विश्वको एकतिहाइ बढी कच्चा तेलको व्यापार हुने हरमुज क्यानल बन्द भएको छ। यो पर्सियन खाडी र ओमान हुँदै जान्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हजमुज क्यानलाई सुचारु गर्ने बताएका छन्।
क्यानल बन्द भए आपूर्ति र सामुन्द्रिक यातायातमा असर पर्नेछ। यो क्यानल बन्द हुँदा साउदी अरेबियालगायत अन्य मुलुकबाट आउने तेलमा असर पर्नेछ।
यो वर्ष विश्व तेल बजार कमजोर रहने अनुमान गरिएको थियो। तर, अमेरिका इरान युद्धले यो प्रक्षेपणलाई फरक पार्ने देखिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको भाउ २०२६ को अन्त्यमा ब्यारेलको ६२ डलरमा रहने अनुमान तेल कम्पनीहरुले गरेका छन्।
जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ ब्यारेल भन्दा कम हो। एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत मूल्य ब्यारेलको ५५.०८ डलर हुने अनुमान गरेको छ। डब्ल्युटीआईको औसत ५१.४२ ब्यारेल हुने अपेक्षा गरिएको छ।
यस्तै आगामी सन् २०२७ र २०२८ मा कच्चा तेल ब्यारेलको औसत ६९, २०२९ र २०३० सम्ममा ब्यारेलको ७५ डलर हुने अनुमान गरिएको छ। कच्चा तेलका साथै सुन र डलरको भाउ उकालो लागेको छ। विश्वमा महंगी बढ्ने संभावना देखिएको छ।


