काठमाडौँ: नेपाल आयल निगमले अबदेखि आधा सिलिन्डर मात्रै खाना पकाउने एलपी ग्यास वितरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले बताए।
यसअघि २०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि पनि निगमले आधा सिलिन्डर मात्रै ग्यास वितरण गरेको थियो। भारतबाट इन्धनको आपूर्ति नियमित भइरहे पनि बजारमा अभाव हुन लागेको भन्ने अनावश्यक हल्लाले गर्दा उपभोक्ताहरू त्रसित भएर सञ्चय गर्नतिर लाग्दा समस्या देखिएको भट्टको भनाइ छ।
कार्यकारी निर्देशक भट्टका अनुसार अहिले देखिएको समस्या आपूर्तिमा कमी भएर नभई उपभोक्ताको मनोवैज्ञानिक त्रासका कारण सिर्जना भएको हो।
ग्यासको आपूर्तिलाई सहज बनाउन र सबै उपभोक्ताको भान्सासम्म पुर्याउन निगमले आधा सिलिन्डर ग्यास (७.१ केजी) मात्रै भरेर बजारमा पठाउने निर्णय भएको हो।
यस्तै निगमले पेट्रोलियम पदार्थको अभाव समाधानका लागि जर्किन, ड्रम र मिनरल वाटरका खाली बोतलहरूमा पेट्रोल भर्न रोक लगाउने पनि निर्णय गरेको छ।


