काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरका मुद्दा फिर्ता लिने रिटविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। आइतबारदेखि उक्त रिटमाथि नियमित सुनुवाई सुरू भएकोमा सुनुवाई नसकिएपछि मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णयबमोजिम दुई कसुर हटाउन जिल्ला सरकारी वकील कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। उक्त निर्णयविरुद्ध सर्वोच्चमा तीनवटा रिट परेका छन्।
मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दिएकोमा लगाउमा राखेर मुद्दाको सुनुवाई भैरहेको छ।
उक्त मुद्दाको आइतबारदेखि नियमित सुनुवाई भए पनि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायाधीश पोखरेलले उक्त मुद्दा हेर्न नमिल्ने बताएका थिए। पोखरेल अधिवक्ता रहँदा लामिछानेका तर्फबाट दोहोरो नागरिकता र राहदानीको मुद्दामा बहस गरेकाले अहिले लामिछानेको मुद्दा हेर्न नमिल्ने तर्क भण्डारीको थियो। तर पनि, न्यायाधीश पोखरेलले उक्त मुद्दा हेरिरहेका छन्।
न्यायाधीश पोखरेलमाथि सोमबार न्याय परिषद्मा उजुरी परेको छ।


