काठमाडौं– मनसुनजन्य विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायतका कार्यमा खटिने दक्ष सुरक्षा जनशक्तिमा उल्लेख्य वृद्धि गरिएको छ। गत वर्ष विपद् व्यवस्थापनका लागि १ हजार ४८४ दक्ष जनशक्ति रहेकामा यसपालि बढाएर ११ हजार छ सय ६३ पुर्याइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि नेपाली सेनाबाट ७ हजार ६३६ सुरक्षा जनशक्ति विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै, नेपाल प्रहरीका २ हजार १२५ र सशस्त्र प्रहरी बल नेपालका १ हजार ९०३ जनशक्ति विपद् व्यवस्थापनकै लागि तयार पारिएको जनाइएको छ। यसमा सशस्त्र प्रहरीको गोताखो रमात्रै ७४ जना छन् । यद्यपि विपद्को अवस्थाअनुसार भने जनशक्ति थपघट हुनेछ।
प्रहरी हरेक जिल्लाबाट आ–आफ्नै तरिकाले परिचालन हुने भए पनि विशेष रूपमा विपद्लाई नै केन्द्रित गरेर दक्ष सुरक्षा जनशक्ति तयार पारिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।अन्य सुरक्षाकर्मी ठाउँ–ठाउँमा खटिनेछन्। ११ हजार जनशक्ति भनेको विपद्सम्बन्धी नै तालिम लिएर दक्ष बनाइएका हुन्।
यसपालि नेपालमा पूर्वबाट मनसुन प्रवेश भइसकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटकको मनसुनमा औषतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। प्राधिकरणले यसपालि विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुने अनुमान गरेको छ। सोहीअनुसार मनसुन प्रतिकार्य कार्ययोजना बनाएर कार्यान्वयन गरिएको छ।
सात स्थानमा सशस्त्रको विपद् उद्धार केन्द्र
मनसुनजन्य विपद्ले जनधनको क्षति बढिरहेका बेला ठूला खोला र तटीय क्षेत्रमा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी बलले कोसीदेखि सुदूरपश्चिम प्रदेशका ५ ठाउँमा उद्धार केन्द्र स्थापना गरेको हो।
अन्य दुई ठाउँमा यही साताभित्र बेस स्थापना हुँदै छन्। धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मूलघाट सुरक्षा बेसलाई विपद् व्यवस्थापन वेशको रुपमा स्तरोन्नति गरिएको छ। म्याग्दीको बेनीस्थित आश्रित गुल्म र डडेल्धुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा तालिम प्राप्त जनशक्तिसहितको उद्धार टोली रहनेछ।
आदमघाट र निजगढमा प्रहरी नायब उपरीक्षक (डिएसपी) र बेनी, मूलघाट तथा अमरगढीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा जनशक्ति रहने सशस्त्र मुख्यालयले जनाएको छ। मनसुनजन्य प्रकोप तथा अन्य अवस्थाको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन विपद् व्यवस्थापनको तालिम लिएको टोली परिचालन हुने सशस्त्र मुख्यालयका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
‘विपद् व्यवस्थापन बेसमा आवश्यक सामानसहित सशस्त्र प्रहरी बलको व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको छ,’ उनले भने। दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा यही साताभित्र बेस स्थापना गर्ने तयारी भइरहेको थापाले जानकारी दिए। भालुवाङको नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र सुर्खेतको चिप्लेमा यसअघिकै सुरक्षा बेसलाई स्तरोन्नति गरी विपद् व्यवस्थापन बेस स्थापना हुनेछ। चितवनको कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयका तालिमप्राप्त जनशक्ति यस्ता बेसमा खटिनेछन्।
कुरिनटारमा सशस्त्रको विपद् तालिम शिक्षालय १९ वैशाख २०६७ मा स्थापना भएको थियो। त्यसयता सो शिक्षालयबाट २ हजार ३०० जनाले विपद् व्यवस्थापन तालिम लिएका छन्। सशस्त्रकै कमान्डमा ७४ जना गोताखोर छन्।


