काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान पुगेका छन्। उनी पाकिस्तान प्रिमियर लिग (पीएसएल) खेल्न पाकिस्तान पुगेका हुन्।
उनी आबद्ध टोली इस्लामावाद युनाइटेडले सामाजिक सञ्जालमार्फत उनको आगमन पुष्टि गर्दै स्वागतसमेत गरेको छ। यस सिजनका लागि इस्लामाबादले ऐरीलाई अक्सनमार्फत करिब ६० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो। यससँगै उनी पीएसएल खेल्ने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि सन्दीप लामिछाने ले उक्त लिगमा सहभागिता जनाइसकेका छन्।
ऐरीको टोली इस्लामाबाद युनाइटेडले आफ्नो पहिलो खेल शनिबार मुल्तान सुल्तानसँग खेल्दैछ। खेल लाहोर आयोजना हुनेछ।
यसैबीच, पश्चिम एसियामा विकसित सुरक्षा अवस्थाका कारण यसपटक पीएसएलका खेलहरू दर्शकविहीन रंगशालामा सञ्चालन हुने जनाइएको छ। साथै, सुरुमा विभिन्न पाँच रंगशालामा खेल आयोजना गर्ने योजना रहे पनि अहिले सबै खेलहरू लाहोर र कराँची मा सीमित गरिएको छ।


