काठमाडौँ: कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब ५ अर्ब ३० करोड रुपैयाँ वितरण गरेको छ। यसमध्ये करिब ५ अर्ब १९ करोड रुपैयाँ सञ्चयकर्ताको खातामा र १० करोड ५५ लाख रुपैयाँ योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा जम्मा गरिएको छ।
फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण स्वीकृत गर्दै खातामा रहेको मौज्दात रकममा १ प्रतिशतका दरले मुनाफा दिने निर्णय गरेको थियो। सोही अनुसार रकम वितरण गरिएको हो।
कोषले वार्षिक मुनाफाको करिब ९० प्रतिशत सञ्चयकर्तालाई वितरण गर्ने र बाँकी रकम जगेडा तथा कल्याणकारी कोषमा राख्ने नीति अपनाउँदै आएको छ। चालु वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशत ब्याज दिइएको छ भने ५.७५ प्रतिशत ब्याजदरमा ९५ प्रतिशतसम्म विशेष सापटी सुविधा उपलब्ध छ।
यस आधारमा ब्याज र मुनाफा जोड्दा कुल प्रतिफल ५.२५ प्रतिशत पुग्छ, जुन सापटी ब्याजदरभन्दा ०.५० प्रतिशतले मात्र कम हो।
कोषले विशेष, घर, शैक्षिक, घर मर्मत, सरल तथा जग्गा खरिद सापटी सुविधा उपलब्ध गराउँदै आएको छ। साथै, स्वास्थ्य उपचार सोधभर्ना, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपूर्ति लगायतका सामाजिक सुविधा पनि प्रदान गर्दै आएको छ।
गत वर्ष १९ हजार १११ जनाले सुत्केरी सुविधा, ६०५ जनाले काजकिरिया अनुदान, १७० जनाले दुर्घटना क्षतिपूर्ति र ५ हजार ३५५ जनाले स्वास्थ्य उपचार सुविधा प्राप्त गरेका छन्। हाल कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार योगदानकर्ता आवद्ध छन्।


