काठमाडौँ: विवादस्पद व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखिएको छ। विदेश जान रोक लगाउनेगरी उनलाई प्रतिबन्ध लगाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा उनलाई कालोसूचीमा राखिएको हो भने उनको पासपोर्टसमेत रोक्का गरिएको छ।राजनीतिक संरक्षणमा विचौलियाका रूपमा राज जमाएका उनको आर्थिक गतिविधि र व्यावसायिक संलग्नतामाथि अनुसन्धान सुरु भएको छ।
भट्टमाथि लामो समयदेखि राजनीतिक पहुँचको आधारमा सेटिङमार्फत् स्वार्थअनुरूप काम गराउँदै आएको आरोप लाग्दै आएको थियो। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कडाइका साथ अनुसन्धान अघि बढाइएपछि भट्टमाथि कारबाही प्रक्रिया तीव्र बनेको हो।
भट्ट इन्फिनिटी होल्डिङ्स प्रालिका प्रमुख हुन्। यस कम्पनीमा भएको शंकास्पद वित्तीय कारोबारका कारण उनी २०७९ मंसिरमै अनुसन्धानको दायरामा तानिएका थिए। नेपाल राष्ट्र बैंकले कम्पनीको पुँजी अस्वाभाविक रूपमा वृद्धि भएको र लगानीको स्रोत नखुलेको भन्दै छानबिनका लागि सिफारिस गरेको थियो।
उपलब्ध विवरणअनुसार इन्फिनिटी होल्डिङ्सको चुक्ता पुँजी २०७७ असार मसान्तमा तीन करोड रुपैयाँ रहेकोमा एक वर्षमै बढेर ४८ करोड रुपैयाँ पुगेको देखिन्छ। तर उक्त वृद्धिको स्पष्ट स्रोत खुल्न नसक्दा शंका थप गहिरिएको हो।
त्यसैगरी, भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिलबाट ४५ करोड रुपैयाँ स्थानान्तरण भई पुनः सोही रकम इन्फिनिटी होल्डिङ्समा जम्मा गरिएको देखिएको छ। अनुसन्धानका क्रममा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा ४५ करोड रुपैयाँ लगानी गरिएको भेटिएको छ। तर उक्त लगानीको स्रोत र पारदर्शितामाथि प्रश्न उठेको छ। साथै, भट्ट र लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टबीच पारिवारिक सम्बन्ध रहेको र प्रभाव प्रयोग भएको हुनसक्ने आशंका पनि राष्ट्र बैंकको पत्रमा उल्लेख छ।
यति मात्र होइन, भट्टले विभिन्न कम्पनी र सहायक संस्थामार्फत ठूलो रकम दुरुपयोग गरेको समेत खुलेको छ। अनुसन्धानअनुसार उनले करिब तीन अर्ब ८१ करोड रुपैयाँ विभिन्न संस्थाबाट निकालेर सेयर बजारमा लगानी गरेका थिए। यसमध्ये दुई अर्ब ७३ करोड रुपैयाँ हिमालयन रि–इन्स्योरेन्सबाट, २२ करोड हिमालयन सेक्युरिटिजबाट, ३३ करोड नेपाल लाइफ इन्स्योरेन्ससम्बद्ध संस्थाबाट, २५ करोड एचएलआई लार्ज क्याप फन्डबाट र १६ करोड नेपाल माइक्रो इन्स्योरेन्सबाट निकालिएको देखिएको छ।
उक्त रकम भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत विभिन्न कम्पनीहरूको सेयर खरिदमा प्रयोग गरिएको थियो। यस क्रममा बीमा सम्बन्धी कानुन उल्घंन भएको हुनसक्ने आशंकामा नेपाल बीमा प्राधिकरणलाईसमेत अनुसन्धानका लागि संलग्न गराइएको छ।
यसअघि पनि भट्ट जगदम्बा स्टिलबाट रकम लिएर हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको विषयमा अनुसन्धानमा तानिएका थिए। हालसम्मको अनुसन्धानले उनको आर्थिक कारोबारमा गम्भीर अनियमितता र अपारदर्शिता देखाएको राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले देखाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक स्टेटमेन्ट, वित्तीय विवरण तथा कारोबारको प्रकृतिको विश्लेषणपछि थप अनुसन्धान आवश्यक ठहर गर्दै प्रक्रिया अगाडि बढाएको छ। यस प्रकरणले नेपालको वित्तीय प्रणालीमा पारदर्शिता र नियमनको अवस्थामाथि पुनः बहस सुरु गराएको छ।
दीपक भट्टको नेपाली कांग्रेस, नेकपा एमालेलगायत अन्य राजनीतिक दलका उच्च नेतासँग राम्रो सम्बन्ध भएकाले हिमालयन रि–इन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स खोल्न सफल भएका छन्। यस्तै उनले हिमालय स्टक एक्सचेन्जको लाइसेन्स हड्प्ने तयारीमा थिए। तर, अहिले रोकिएको छ।


