काठमाडौँ- प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर कार्कीले पदभार ग्रहण गरेका हुन्।
विसं २०१५ भदौ २५ गते ओखलढुङ्गाको माम्खामा जन्मनुभएका प्रधानन्यायाधीश कार्कीले विसं २०३९ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा सङ्कायमा स्नातक गरेका छन्। लामो समयसम्म वकालत पेसा अंगालेका उनले विसं २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरे।
सोही वर्ष कार्की नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए। विसं २०७१ मा नेपाल सरकारको महान्यायाधिवक्ता पदमा नियुक्त भएका कार्की नेपाल बार काउन्सिल र नोटरी पब्लिक काउन्सिलको अध्यक्ष भए।
विसं २०७२ मा सर्वाेच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा प्रवेश गरेका कार्कीलाई न्याय सेवा परिषद् र न्यायसेवा आयोगको सदस्य भई काम गरेको अनुभव छ।
संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको थियो।
सर्वोच्च अदालतमा झन्डै ८ महिनादेखि प्रधानन्यायाधीशको पद रिक्त थियो। त्यसैबेलादेखि कायममुकायम प्रधानन्यायाधीश रहेका कार्की शुक्रबार न्यायपालिकाको सर्वोच्च पदको जिम्मेावारी ग्रहण गरेका हुन्।
कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन्।











